Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र जाजरकोटका ३२ हजार बढी विद्यार्थीलाई सिकाई निरन्तरताका लागि सहयोग 
समीक्षा कार्यक्रमका सहभागीहरु ।

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित सिकाई निरन्तरता सहयोग कार्यक्रम परियोजनाको समीक्षा गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) र रुकुमेली समाज विकास केन्द्रद्वारा रुकुम पश्चिम र जाजरकोटमा सञ्चालन भएको परियोजनाको रुकुम पश्चिमको मुसिकोटमा समीक्षा गरिएको हो । भूकम्प प्रभावित विद्यालयमा सिकाई निरन्तरताका लागि रुकुम पश्चिमका सबै ६ वटै र जाजरकोटका बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा परियोजना सञ्चालन भएको थियो । 

यस परियोजनाबाट दुई जिल्लाका तीन सय ९५ वटा विद्यालयमा प्रारम्भिक कक्षा सिकाई तालिम, मनोसामाजिक परामर्श, अभिभावक शिक्षा, पालिका स्तरमा सिकाई निरन्तरता योजना निर्माण र विद्यालय स्तरमा सिकाई निरन्तरता योजना निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । 

त्यस्तै प्रदेश स्तरको विपत् पूर्व तयारी प्रतिकार्य योजना निर्माण, विद्यालयमा विपत् व्यवस्थापन समिति निर्माण, प्रारम्भिक कक्षा शिक्षा तालिम सञ्चालनका साथै अस्थायी सिकाई केन्द्र निर्माणमा सहजीकरण समेत गरिएको ओलीले बताउनुभयो । 

तीन महिनासम्म सञ्चालन भएको परियोजनाबाट दुई जिल्लामा गरी ३२ हजार पाँच सय २० विद्यार्थी र दुई सय ४३ शिक्षक लाभान्वित भएको समीक्षा कार्यक्रम मार्फत जानकारी गराइएको छ । भूकम्पले दुई जिल्लामा विद्यालयमा पारेको असरका कारण पठन पाठन असहज भएको अवस्थामा यो परियोजनाले ठुलो सहयोग पुगेको सिकाई निरन्तरता सहयोग कार्यक्रम परियोजनाका कार्यक्रम संयोजक रमेशकुमार गौतमले जानकारी दिनुभयो । 

त्यस्तै २०२४ को जनवरी ८ देखि अप्रिल ७ सम्म सञ्चालन भएको परियोजना सकिएको छ । परियोजना अन्तर्गत कुल ४४ लाख ७० हजार पाँच सय खर्च भएको थियो । यसमा रुकुमेली समाज विकास केन्द्रले पाँच लाख ७५ हजार खर्च गरेको थियो । 

समीक्षा कार्यक्रमका सहभागीहरूले परियोजनाको निरन्तरता आवश्यक रहेको बताएका थिए । विपतका बेलामा यो परियोजनाले पढाई रोकिन नदिन ठुलो सहयोग पुगेको भन्दै अझै केही समय परियोजना जारी रहेमा थप सहयोग पुग्ने सहभागीहरूको भनाई थियो । 

युनिसेफको फिल्ड अफिस नेपालगन्जका शिक्षा अधिकृत फर्शुराम पन्थले यो परियोजना सकिए पनि विभिन्न कार्यक्रम मार्फत युनिसेफ साथैमा रहेको बताउनुभयो । यो परियोजना तत्कालीन परिपूरणका लागि रहेको बताउँदै अव नयाँ तरिकाले अघि बढ्नुपर्ने उहाँको भनाई थियो । 

रुकुमेली समाज विकास केन्द्रका सचिव केशन क्षेत्रियालको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रहरी प्रमुख नायव उपरीक्षक नबराज पोखरेल, राष्ट्रिय अनुसन्धान प्रमुख चिरञ्जीवी बुढा, सशस्त्र प्रहरी निरीक्षक टिकाराम गोसाई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, युनिसेफका शिक्षा अधिकृत फर्सुराम पन्थ, कार्यक्रम सञ्चालित पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update