रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ भलखोला परम्परागत रुपमा लाग्दै आएको मेला यस वर्षपनि लाग्ने भएको छ । मेलाको अवसरमा विविध खेदकुद प्रतियोगिता आयोजना गरिएको छ । चैते दशैंको अवसरमा वैशाख २ गतेदेखि ५ गतेसम्म विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष शंकर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलाको अवसरमा खुला वडा स्तरिय महिला,पुरुष भलिबल, लोक दोहोरी, रस्साकस्सी, एकल नृत्य, अचम्मको पोको, छेलो, स्लाे मोटरसाइकल रेस र भाले तान्ने प्रतियोगिता सञ्चालन गरिने छ । पुरुष तर्फ प्रथम हुने समुहले नगद ६५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समुहले ४० हजार नगद सहित मेडल, प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने समुहले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
महिला भलिबल तर्फ प्रथम हुने समुहले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने समुहले १५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने समुहले १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष चन्दले जानकारी दिनुभयो । त्यस्तै मेलाको अवसरमा आयोजना गरिएको लोक दोहोरी, रस्साकस्सी, एकल नृत्य, अचम्मको पोको, छेलो,स्लाे मोटरसाइकल रेस र भाले तान्ने प्रतियोगितामा स्थान प्राप्त गर्ने समुहलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । हरेक वर्ष चैते दशैंको अवसरमा भलखोलामा मेला लाग्दै आएको छ ।