रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित सीमा गाउँका महिलाहरू स्थानीय सीप संरक्षणमा जुटेका छन् । उनीहरू स्थानीय मगर भेषभूषाको लागि महत्त्वपूर्ण मानिने खाडी लोप हुने अवस्थामा पुगे पछि यसको संरक्षणमा जुटेका हुन् । वडाको महिला लक्षित कार्यक्रमको दुई लाख तथा गाउँपालिकाकाे एक लाख २५ हजार रुपैयाँ गरी कुल तीन लाख २५ हजार रुपैयाँमा एक महिने खाडी बुनाइ तालिम सञ्चालन भएको छ ।
वडाका १६ जना लक्षित समूहका महिलाहरू तालिममा सहभागी भएका छन् । महिलाहरूको रोजाइमा यो तालिमको आयाेजना गरिएको ३ नम्बर वडा अध्यक्ष पर्शुराम बुढाले जानकारी दिनुभयो । यस अघिसम्म कुनै सीपमूलक तालिम नलिएकी उर्मिला पुनले खाडी बुनाइ सम्बन्धी तालिम लिएर सीप सिक्न पाउँदा खुसी लागेको बताउनुभयो । महिलालाई आयआर्जनमा जोड्न र स्वरोजगार बनाउन तालिमले ठुलो सहयोग पुग्ने वडाले विश्वास लिएको छ । स्थानीय सयन पुनले तालिमका सहभागीलाई प्रशिक्षण दिइरहनुभएको छ ।