रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर २ स्यालामा खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार राती साढे १० बजे धनबहादुर बोहराको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट पसलमा रहेका खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडा सहित नगद ३ लाख ३० हजार रुपैयाँ गरेर ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोहराको चार कोठाको दुई तले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । साढे १० बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान १ बजेर ४५ मिनेटमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
यसैबिच पीडित परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । बोहराका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले वडाको तर्फबाट १ बोरा चामल, १ बोरा दाल, २ वटा कम्बल, एउटा वटा फाइवर सिरक र खान पकाउनको लागि भाडावर्तन सहयोग गरिएको वडा अध्यक्ष देवबहादुर ऐरीले जानकारी दिनुभयो ।