गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्पको पाँच महिना पुरा हुँदा पनि पहिलो किस्ता वितरण नै सकिएको छैन । जिल्ला प्रशासन कार्यालयको शुक्रवारसम्मको तथ्याङ्क अनुसार जिल्लामा ३१ हजार २२ लाभग्राहीको खातामा पहिलो किस्ता गएको छ । तर जिल्ला विपत् कोषबाट स्थानीय विपत् कोषमा ३२ हजार नौ सय ९६ लाभग्राहीका लागि पहिलो किस्ता बापत कुल ८२ करोड ४९ लाख गइसकेको छ ।
यो तथ्याङ्क अनुसार स्थानीय तहबाट अझै एक हजार नौ सय ७४ लाभग्राहीले पहिलो किस्ताकै रकम पाउन बाँकी देखिन्छ । साथै जिल्लाभरमा ३० हजार नौ सय २४ अस्थायी आवास बनेको र तीन हजार दुई सय ३० वटा आवास बनिरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पहिलो किस्ता वितरण सक्नै समय लागिरहेको अवस्थामा दोस्रो किस्ता कहिलेबाट लाभग्राहीको खातामा जान्छ भन्नेमा सम्बन्धित निकाय नै अनविज्ञ छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दोस्रो किस्ता वितरणका लागि जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तयारी अवस्था रहेको बताउनुभयो । तर स्थानीय तहबाट विपत् पोर्टलमा लाभग्राहीको विवरण इन्ट्री नभइसकेकोले दोस्रो किस्ता वितरणमा ढिलाइ भएको उहाँले बताउनुभयो । अस्थायी आवास, भूकम्पले भत्किएको घरको फोटो सहित अन्य विवरण पोर्टलमा इन्ट्री भएपछि मात्र दोस्रो किस्ता वितरण सुरु हुने उहाँले बताउनुभयो । दोस्रो किस्ताका लागि केन्द्रबाट थप ४० करोड रुपैयाँ आइसकेको बताउँदै उहाँले स्थानीय तहले आवश्यक प्रक्रिया पुरा गरेमा दोस्रो किस्ता निकासामा कुनै समस्या नरहेको बढुवालले स्पष्ट पार्नुभयो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले सरकारको पटकै पिच्छे आउने फरक फरक मापदण्डले काम गर्न समस्या भएको बताउनुभयो । ‘सुरुमा एउटा मापदण्ड आउँछ, सो अनुसार काम भइरहेको हुन्छ फेरि अर्को मापदण्ड तोकिएर आउँछ, अनि सुरुबाट काम गर्नुपर्छ, उहाँले भन्नुभयो ।’ घुमाउरो प्रक्रियाका कारण काम गर्न समस्या भएको र कामको बोझ समेत थपिएको उहाँले बताउनुभयो ।
पहिलो किस्ताका लागि तयार पारेका फाइल काम नलाग्ने भएपछि पुनः लाभग्राहीको घरघरमा पुगेर नयाँ फाइल बनाउनुपरेको र ती सबै कागजातलाई स्क्यान गरेर विपत् पोर्टलमा इन्ट्री गर्न समय लागेको उहाँको भनाई छ । हालसम्म ६ हजार दुई सय ७९ लाभग्राहीको फाइल इन्ट्री भइसकेको र अब एक हजार दुई सय २३ लाभग्राहीलाई पहिलो किस्ता वितरण र दोस्रो किस्ताका लागि विवरण इन्ट्रीको काम सँगसँगै चलिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले पनि लाभग्राहीको विवरण विपत् पोर्टलमा इन्ट्रीको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले हालसम्म साढे पाँच हजार लाभग्राहीको फाइल इन्ट्री गरिसकेको छ । अब केही लाभग्राहीको मात्र बाँकी रहेको उहाँले बताउनुभयो । सानीभेरीमा ६ हजार एक सय ४३ वटा अस्थायी आवास निर्माण भएको अध्यक्ष विष्टले बताउनुभयो ।
अस्थायी आवासकै अनुदान पाउन ढिलाइ भएपछि स्थायी आवास सहजै बन्नेमा भूकम्प प्रभावित विश्वस्त छैनन् । सानीभेरी गाउँपालिका वडा नम्बर ४ की साबित्रा चन्दले अस्थायी आवासको अवस्था हेर्दा सहजै र तत्कालै स्थायी आवास निर्माण हुने नदेखेको बताउनुभयो । अव बर्खा आउन लागेको र अस्थायी आवासमा बर्खा काट्न मुस्किल हुने उहाँले बताउनुभयो ।