नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले विभिन्न विभागका इन्चार्ज तोकेको छ । पार्टीको १३ औँ पूर्ण बैठकले स्कुलिङ विभाग, सङ्गठन विभाग, स्थानीय तहको समन्वय विभाग र प्रदेश निर्वाचन इन्चार्ज तोकेको हो । स्कुलिङ तथा स्थानीय विभागको जिम्मेवारी वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठले पाउनु भएको छ भने पार्टीका जिल्ला इन्चार्ज तेजबहादुर ओली र पार्टीका जिल्ला संयोजक कुमारी बरालले सङ्गठन विभाग जिम्मेवारी पाउनु भएको हो ।
निर्वाचन क्षेत्र क को जिम्मेवारी जिल्ला पार्टी सह इन्चार्ज रामसुर बुढाले पाउँदा निर्वाचन क्षेत्र ख को जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य जुनकुमारी रोकाले पाउनु भएको हो । यस्तै बैठकले गत चैत्र ५ गते बस दुर्घटना परी ज्यान गुमाएका प्रेस सेन्टर रुकुम पूर्वका उपाध्यक्ष तथा नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्वका सचिव पत्रकार विक्रम परियारको नाममा अक्षयकोष स्थापन गर्न पहल गर्ने निर्णय समेत गरेकाे नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले पार्टी सदस्यता नवीकरण, गाउँपालिका स्तरीय बैठक तथा वडा सम्मेलन गर्ने निर्णय पनि गरेकाे छ ।