Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुला बुवाको अध्ययन मोह !

इच्छा शक्ति नै सबैभन्दा ठुलो शक्ति हो । गन्तव्यको बिच बाटोमा हराउनेहरू केवल बहाना मात्रै प्रकट गर्दछन् । जहाँ इच्छा त्यहाँ उपाय । खाने मुखलाई जुँगाले छेक्दैन आदि उखानहरू त्यस्तै जनजिब्रोमा झुन्डिएका होइनन् । आफ्नो रुचि प्रतिको समर्पणले मात्रै मान्छेलाई महान् बनाउने हो । अनि गन्तव्यमा पुर्‍याउने हो । दृढ इच्छा शक्ति र लगावले मात्रै पहिचान बदल्छ । जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । नवीनताको  रूपमा परिणत हुन्छ ।   

घरमा ठुलो बुवा हुनुहुन्छ । नाम  हो महेश्वर जैसी । ठेगाना चौरजहारी नगरपालिका-५ लहरेसिमल रुकुम (पश्चिम) । उमेर ७५ वर्ष । प्रायको ४० वर्षको उमेर पुग्दा नपुग्दै चस्मा खोजी हुन थाल्छ । तर  अहिलेसम्म उहाँलाई चस्माको कुनै जरुरत छैन । चस्मा खोजी गर्नु परेको छैन । आँखाका लागि नाकमा चस्मा बसेको छैन । ताजा र तिक्खर छन् आँखाहरू ।

अध्ययनमा सदाबहार रुचि राख्नेको सङ्ख्या कमै छ । धरैलाई योग्यता हासिल गर्न र जागिर खानका लागि मात्रै जबरजस्ती पढ्नु परेको छ । कतिपय १० कक्षा पास गर्दा पनि राम्रोसँग अक्षर फुटालेर पढ्न नसक्नेहरू पनि भेटिन्छन् । औपचारिक शिक्षा हासिल गरेका र नगरेकाहरू बिच कुनै अन्तरको गुन्जायस समेत नहुने अवस्था देखिन्छ । कुनै सामग्री पढ्न दियो भने अन्टसन् हुने अवस्था छ । आपत् विपत् परे जस्तो । थुरथुर काँपेर शरीरबाट पसिना छुटे जस्तो । 

६० वर्ष अघि कक्षा उत्तीर्ण गर्नुभएका ठुला बुवाको  सामान्य ज्ञानप्रतिको मोह भने औधी छ । लोभ लाग्दो छ । लोकसेवा पढ्ने र पढाउने भन्दा कम छैन रुचि । उमेरले ७५ वर्ष पुगिसक्दा पनि अध्ययनमा कमी  छैन । अझ बढ्दै गएको छ । उमेर बढ्दै जाँदा स्मरण शक्तिमा ह्रास हुनुपर्ने हो । तर उहाँ अपवाद जस्तै बन्नुभएको छ ।

अरूको भन्दा उहाँको आदत बेग्लै छ । बिहानै उठ्नु,  नित्यकर्म सक्नु अनि आफ्नो रुचि अनुसारका पुस्तक पढ्नु उहाँको दैनिकी हो । पढ्ने रुचि कै कारण स्वअध्ययनबाट राम्रो दखल हासिल भएको छ । स्वअध्ययनबाट पनि धेरै ज्ञान र सीप हासिल गर्न सकिन्छ भन्ने उहाँ एक उदाहरण हो ।  

न त जीवनभर जागिर खानुभयो न त उप्रान्त खान सम्भव नै छ । तथापि, अध्ययनमा अगाध रुचि छ । किताब भेट्यो कि अक्षर पढिहाल्ने उहाँको विशेषता हो । स्वअध्ययनबाट नै नेपालका साथै विश्वसँग सम्बन्धित विभिन्न क्षेत्रका विषयवस्तुको अध्ययन गर्नुभएको छ । दिनहुँ पुस्तक अध्ययन गर्नुहुन्छ । इतिहास, भूगोल, समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी राख्नुहुन्छ । यो उहाँको सोख हो ।

विद्यालय शिक्षा पढ्दै गरेका होउन् वा उच्च शिक्षा हासिल गरेका प्रसङ्ग निकाल्दै प्रश्न गरिहाल्नु हुन्छ । तयारी बिनाका जोकोही हैरान हुन्छन् । भेट् हुँदा म आफैँलाई पनि प्रश्न सोधेर अन्टसन् बनाउनु हुन्छ । सोच विचार गरेर तयारीका साथ जवाफ दिनुहुन्छ । कहिलेकाहीँ त गुगल सर्च गरेर भए पनि जवाफ दिएर चित्त बुझाउनु पर्ने अवस्था आइलाग्छ । गाउँघरका केटाकेटीहरूको अध्ययनप्रतिको रुचि र ज्ञानको परीक्षण समेत गर्ने उहाँको आदत छ । बिचबिचमा विद्यालयमा जाने पढाइको अवस्था बारे जानकारी नलिई मनले मान्दैन । गाउँमा शिक्षकहरूसँग समसामयिक विषयमा समेत साक्षात्कार गर्नुहुन्छ ।     

आफूले बुझेका विषयवस्तु अरूलाई बाँड्न रमाउनु हुन्छ । किताबी ज्ञानका विषयवस्तुमा छलफल गर्न  निकै सधैँ उत्सुक हुने उहाँको विशेषता हो । नेपालको इतिहासको राम्रो ज्ञान छ । गाउँघरका प्राय मान्छेको जन्म, मृत्यु तथा महत्त्वपूर्ण घटनाहरूको साल महिना गते स्मरण गर्न सक्ने क्षमतामा पनि छ । गाउँका प्राय मान्छेको जन्म मिति याद छ । कही कतै तिथि मिति भुल्यो भने गाउँका सबै जना जानकारी लिन उहाँसँग नै आउने गरेका छन् । गाउँ घरका महत्त्वपूर्ण घटनाको मिति दिमागमा सुरक्षित छन् । विशेष गरी अघिल्लो पुस्ताकाहरू जन्म मिति याद गर्दैन थे । जति बेला विवाह, व्रतबन्ध हुन्थ्यो अनि जन्म मिति खोजी हुन्थ्यो । जन्म मिति खोजी गर्दै ठुला बुवा समक्ष पुगेको यी आँखाले देख्ने गरेका छन् । 

नेपालका प्रदेश,  जिल्ला र स्थानीय तहहरू मजाले सुनाउन सक्नुहुन्छ । कुन प्रदेशमा कुन जिल्ला सजिलै बताउनु हुन्छ । परिवर्तित सन्दर्भमा कति स्थानीय तह, कुन जिल्लामा कुन स्थानीय तहसमेत दिमागमा सेभ गरिसक्नु भएको छ ।  एक देखि सयसम्म गन्ती गर्न सहज लाग्छ । तर उहाँ त्यतिकै सहज रूपमा  उल्टो गणना गरेर छक्क पार्नुहुन्छ । नेपालको इतिहास, भूगोलका साथै छिमेकी राष्ट्र भारतका राजनीतिक प्रशासनिक विभाजन बारे पनि फररर भन्न सक्नु हुन्छ । विश्वको भूगोल बारे पनि जानकार हुनुहुन्छ ।  नेपालका राजाहरू, राणा प्रधानमन्त्रीको क्रमबद्ध नाम सजिलोसँग आउँछ । १ देखि ४० सम्मका गुणन खण्डहरू कण्ठस्थ छन् । पछिल्लो पुस्तालाई सानो हिसाबका लागि क्यालकुलेटर खोज्नुपर्छ । तर उहाँ आफैँ सजिलै गणितीय समस्या समाधान गर्न सक्नुहुन्छ । 

नेपाली भाषामा लेखिएका जुनसुकै क्षेत्रका पुस्तक पढ्न कुनै समस्या छैन । घरायसी कामकाजपछि फुर्सद हुने बित्तिकै  पलेटी कसेर किताब खोली हाल्ने बानी छ । मजाले भाका मिलाएर पढ्नु हुन्छ । अरूलाई पनि सुनाउनहुन्छ । पुस्तक पढ्नमा नै  रम्ने र रमाउने गर्नुहुन्छ ।

ठुला बुवाको उमेर समूहका गाउँमा सबै निरक्षर छन् । गाउँमा विद्यालय नहुँदा सहज रूपमा पढ्न सक्ने अवस्था थिएन । न त पढ्नु र पढाउनु पर्छ भन्ने चेतना नै थियो । नुनको जोहका लागि २२ दिन लगाएर नुन ल्याउन नेपालगन्ज जानुपर्ने बाध्यता थियो । त्यसमै कहिलेकाहीँ कृषि कर्म तथा कहिले मजदुरीका लागि कालापहाड जानुपर्थ्यो । गाउँमा नजिक विद्यालय  पनि थिएनन् । नजिक विद्यालय नहुँदा पढ्ने रहर त्यतिकै मरेर गएको थियो । पढ्ने रहर भएता पनि पढ्ने स्कुल र पढाउने गुरु नै नहुनु विडम्बना हो । चाहेर पनि सम्भव थिएन ।   

घुमन्ते रूपमा आएका एक जना सन्तले गाउँ नजिकै गलगले वर पीपलबोट मुनि पढाउन थालेपछि बाह्रखरी र अङ्कसम्म चिन्ने हुनु भएको हो । सदरमुकाम मात्र विद्यालयहरू खुलेकोले कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सक्नु भएन । जेठो छोरो भएकोले पारिवारिक जिम्मेवारी बढी थियो ।  

ग्रामीण क्षेत्रमा कापी र कलम पाउन सहज थिएन । पढ्ने पढाउने चेतना र वातावरण पनि थिएन । भुईँमा खरानी पोखेर औँलाले लेखेको उहाँको अनुभव छ । एक वर्षमा नै बाह्रखरीसम्म चिन्नु भएको थियो ।  अक्षर र अङ्क चिन्ने भएपछि त्यसको आडमा स्वअध्ययन गर्न थालेपछि उहाँलाई किताबी ज्ञानबाट संसार चिन्न कसैले रोक्न सकेन ।  

औपचारिक विद्यालय शिक्षा नभएता पनि पढ्ने रहरलाई मर्न दिनु भएन । परिश्रमको फल मीठो हुन्छ भन्ने झैँ अहिले स्वअध्ययन गरेरै भए पनि किताब ज्ञानसँग निकटता बढेको छ । संसार चिन्ने प्रयत्न भएको छ । विद्यालय तथा उच्च शिक्षा हासिल गरेकाहरूसँग छलफल गर्न सक्ने हैसियत बनेको छ ।  ऐतिहासिक, राजनीतिक, आर्थिक तथा समसामयिक विषयवस्तुमा खुलेर छलफल गर्न सक्ने ल्याकत बनेको छ ।

अन्त्यमा, शिक्षालाई बोझका रूपमा नभई सुनौलो अवसरका रूपमा लिनुपर्छ ।  शिक्षा आर्जन गर्न सके आँखाले नदेखेको संसार शिक्षाबाट देख्न सकिँदो रहेछ । पढाइ पनि एक प्रकारको नशा  हो । यो नशा जीवन बदल्ने नशा हो । संसार चिनाउने नशा हो । हानिकारक नशा होइन पढाइको नशा अवलम्बन गरौँ । पठन संस्कृतिको विकास गरौँ ।

ढकाल, चौरजहारी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update