रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षणको साप्ताहिक नतिजा सार्वजनिक गरेको छ । नगर कार्यपालिका र कर्मचारीहरूको उपस्थितिमा सोमबार नतिजा सार्वजनिक गरिएको हो । कार्यालयबाट प्रवाह हुने सेवामा सेवाग्राहीको सन्तुष्टिको अवस्थाबारे कार्यक्रममा जानकारी गराइएको थियो । सेवाप्रतिको प्रतिक्रियाका लागि पाँच वटा अवस्था जनाउन पाउने व्यवस्था मिलाइएको छ । अत्यन्त राम्रो, राम्रो, ठिकै, नराम्रो र अत्यन्त नराम्रो भनी प्रतिक्रिया जनाउन पाइनेछ ।
गत साता सेवा लिने सेवाग्राहीले जनाएको प्रतिक्रियाका आधारमा अत्यन्त राम्रो प्रतिक्रिया दिने सेवाग्राहीको सङ्ख्या २६ प्रतिशत रहेको छ । त्यसै गरी राम्रो भएको प्रतिक्रिया दिने सेवाग्राहीको सङ्ख्या ७० प्रतिशत छ । ठिकै भएको प्रतिक्रिया दिनेको सङ्ख्या चार प्रतिशत रहेको छ । सेवा प्रवाह नराम्रो र अत्यन्त नराम्रो भएको भनी प्रतिक्रिया दिनेको सङ्ख्या भने शून्य प्रतिशत छ ।
लैङ्गिक आधारमा सेवा लिने पुरुषको सङ्ख्या ८३ प्रतिशत छ । सेवा लिने महिलाको सङ्ख्या १७ प्रतिशत रहेको छ । सेवा प्रवाह हुँदा लाग्ने समयको बारेमा समेत सर्वेक्षण गर्ने गरिएको छ । सर्वेक्षणमा सबैभन्दा कम ४ मिनेट देखि सबैभन्दा बढी ३ घण्टा २८ मिनेट समय लागेको पाइएको छ । प्राप्त सर्वेक्षणमा सबैभन्दा कम समयमा महिला बालबालिका उपशाखाबाट सेवा प्रवाह भएको पाइएको छ ।
सेवाग्राहीको प्रतिक्रियाका लागि सेवा पश्चात् टोकन खसाल्ने व्यवस्था मिलाइएको छ । प्रत्येक दिन बेलुका टोकनमार्फत दिएको प्रतिक्रियाको अभिलेख राख्ने व्यवस्था मिलाइको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । दैनिक अभिलेखका आधारमा साप्ताहिक, मासिक र वार्षिक विवरण तयार गरिने उहाँले बताउनुभयो । 'सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणले सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्ष पहिचान हुनेछ', उहाँले भन्नुभयो 'यसले सेवाग्राहीमैत्री सेवाका लागि टेवा पुर्याउने विश्वास ।'