रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ की एक महिला माथि निर्घात कुटपिट भएको छ । लालिवाङकी ५५ बर्सिया खीमा खड्कामाथि स्थानीय २४ बर्सिया अञ्जना खड्का बुढाले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । वडा नम्बर ८ को उन्नेचौरमा रहेको बारीमा जौ काट्न गएकी खीमा माथि अञ्जनाले चैत्र २६ गते कुटपिट गरेको परिवारका सदस्यले जनाएका छन् ।
नुन कुट्ने लोरो र ढुङ्गाले टाउको लगायत शरीरका विभिन्न भागमा कुट्नुका साथै डोरीले घाँटीमा कसेको छोरा अमर खड्काले जानकारी दिनुभयो । आमाको अवस्था गम्भीर रहेको र अहिले कोहलपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो । आमा माथि किन कुटपिट भयो भनेर आफूहरूलाई थाहा नभएको उहाँको भनाई छ ।
त्यस्तै मरणासन्न हुने गरी कुटपिट गर्ने अञ्जनालाई प्रहरीले छाडेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । ‘आमा माथि मरणासन्न हुने गरी निर्घात कुटपिट गर्नेलाई प्रहरीले छाडेको छ, अब हामी गाउँमा कसरी बस्ने हो, हामी माथि असुरक्षा छ, उहाँले भन्नुभयो ।’
यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले कसै विरुद्ध जाहेरी नपरेकोले पक्राउ गर्न समस्या भएको बताउनुभयो । ‘उहाँहरूले अञ्जनाले कुटपिट गरेको भन्नुभएको छ, हामीले उनलाई नियन्त्रणमा पनि लियौँ, तर जाहेरी कसैका विरुद्ध पनि दिनुभएको छैन, जाहेरी नै नपरेको मान्छेलाई कसरी नियन्त्रणमा लिइरहनु, जाहेरी परेमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ, उहाँले भन्नुभयो ।’
पीडित परिवारले जाहेरीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालयमा आउँछौँ भनेको र जाहेरी परेमा सोही अनुसार गर्ने इन्स्पेक्टर खड्काले बताउनुभयो ।