रुकुम पश्चिममा एक सय ७२ रोपनी क्षेत्रफलमा लगाइएको लागू औषध अफिम खेती फडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चैत महिनामा मात्रै एक सय ७२ रोपनीमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरेको हो । जिल्लाको आठबीसकोट, मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठबीसकोट नगरपालिका वडा नम्बर १ स्याला र वडा नम्बर २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, वडा नम्बर १२ को कुरल र लामपुजामा ४५ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको हो ।
त्यस्तै सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीमा १ रोपनी र आठबीसकोट नगरपालिका वडा नम्बर ३ दाङ भन्ने स्थान सहित वडा नम्बर ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा कुल एक सय ७२ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
उहाँका अनुसार चैत ५ गतेदेखि २७ गतेसम्म करिब एक महिनाको अवधिमा अवैध लागू औषध अफिम खेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बिचमा अफिम खेती बढी लगाउने गरेको पाइएको छ । लुकीछिपी अफिम लगाउने गरिएकाले जानकारी पाएसम्म हरेक वर्ष फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।