Kakhara सबैको खबर सम्पूर्ण खबर
झार्लेगोठमा विष्णुको मुर्ती स्थापना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५, झार्लेगोठमा हिन्दु धर्मका देवता विष्णुको मुर्ती राखिएको छ । सोही वडामा रहेको बुढुमष्ट क्षेत्र विकास कोषले झार्लेगोठमा उक्त मुर्ती स्थापना गरेको हो । मुर्ती स्थापनाका लागि मन्दिर क्षेत्रबाट धार्मिक यात्रा सहित एउटा टोली झार्ले गोठ पुगेको थियो ।

बुढुमष्ट क्षेत्र विकास कोषका संरक्षक ध्रुवराज केसी नेतृत्वमा १४ जनाको टोली उक्त मुर्ती स्थापनाका लागि झार्लेगोठ पुगेको थियो । झार्लेगोठ बाँफिकोट लगायतका अन्य क्षेत्रका मानिसहरुले तिर्थब्रत गर्ने क्षेत्र, सिस्ने हिमाल दृश्यावलोकन गर्ने क्षेत्र हो । यस अघि झार्लेगोठमा तिर्थ जाँदा मुर्ती लिएर जाने गरेकामा अब भने सोही मुर्तीलाई पुजिने छ ।

धार्मिक आस्था बढाउन र तिर्थ यात्रापछिको पूजाअर्चनालाई व्यवस्थित बनाउनका लागि पनि मुर्ती स्थापना गरिएको संरक्षक केसीले बताउनुभयो । यस पटकको तिर्थ यात्राका क्रममा मुर्ती स्थापनाका साथै बुढुमष्ट देवतालाई न्यागी दिइएको छ । गहुँ, जौं अरु नगदे तथा हिउँदे बालीको न्वागी दिनका लागि बुढुमष्ट मन्दिरका देवताका मुर्तिलाई तिर्थ गराएर ल्याइएको हो ।

अब बैशाख पूर्णिमाको दिन यी सबै अन्नको न्यागी दिइने छ । यो बर्ष बैशाख १४ गते न्वागी दिइने छ । मन्दिरमा न्वागी दिइएपछि मात्रै नयाँ अनाज तेल,घ्युमा झानेर खान मिल्ने धार्मिक विश्वास छ । न्वागी दिनु अघि पानीमा मात्रै राखेर खाने धार्मिक चलन छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update