Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका भूकम्प पीडितलाई बेइजिङ इन्टरनेशनलको ब्ल्यांकेट  
ब्ल्यांकेट हस्तान्तरण गरिदैँ ।

 

रुकुम पश्चिमका भूकम्प पीडितका लागि चीनको बेइजिङ इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन एन्ड सस्टेनेबल डेभलवमेन्ट कमिटीले ब्ल्यांकेट सहयोग गरेको छ । कमिटीले आज प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई भूकम्प प्रभावितका लागि एक हजार ब्ल्यांकेट हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरिएको हो ।

कमिटीका प्रतिनिधि रोशना लामा र निमा शेर्पाले प्रजिअ पन्तलाई ब्ल्यांकेट हस्तान्तरण गर्नुभएको छ । करिब २५ लाख बराबरका ब्ल्यांकेट सहयोग गरिएको प्रतिनिधि शेर्पाले जानकारी दिनुभयो । यसअघि नै हस्तान्तरण गर्ने तयारी गरिए पनि विभिन्न प्रक्रिया पुरा गर्दा ढिलाइ भएको उहाँको भनाई छ ।

अहिले भूकम्प पीडितले राहत पाइसकेको भए पनि अब बर्खामा आउने विपत् वा त्यसपछि हिउँदका लागि यी सामग्री लाभदायी हुने उहाँको विश्वास छ । सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले सहयोग गर्ने बेइजिङ इन्टरनेशनललाई धन्यवाद ज्ञापन गर्नुभयो । अहिले भूकम्प पीडितलाई ब्ल्यांकेटको आवश्यकता कमै भए पनि भोलीका दिनमा आउन सक्ने विभिन्न विपत्का लागि यी सामग्री प्रयोगमा आउने उहाँले बताउनुभयो ।

56150caa-7967-435e-9cd4-c3da4fb41947-1712978274.jpeg
अहिले ब्ल्यांकेट जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको छ भने आवश्यकताका आधारमा प्रभावितलाई वितरण गरिने प्रजिअ पन्तको भनाई छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले पनि आवश्यकता अनुसार यी सामग्री निकै लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । राहत हस्तान्तरणका लागि कमिटीका तर्फबाट दुई जना रुकुम पश्चिम पुगेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update