नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौँ जिल्ला अधिवेशन तथा आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा शाखाले गरेका गतिविधि सार्वजनिक तथा पाँच बुँदे रुकुम घोषणापत्र जारी गर्दै अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो । नयाँ नेतृत्व चयनको लागि भने अझै केही समय लाग्ने बताइएको छ ।
घोषणा पत्रमा रुकुम पश्चिमको कला, संस्कृति, पर्यटन, सञ्चार क्षेत्र र समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउने, पत्रकारिता क्षेत्र व्यावसायिक हुन नसक्दा पैदा भएको निराशाको कारण नयाँ पुस्ताको आकर्षण नभएको र पत्रकारिता गरिरहेकाहरू पेसाबाट पलायन हुने क्रम बढेकोले मिडिया क्षेत्रको सम्भावना उजागर गर्दै लगानी गर्न सरोकारवाला निकाय समक्ष माग गर्ने कुरा घोषणा पत्रमा रहेको पत्रकार महासंघ शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पत्रकार आचारसंहिता भन्दा बाहिर हुने विभिन्न गतिविधिहरूले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयता माथि प्रश्न चिन्ह उठ्ने गरेकोले यसको नियमन तथा नियन्त्रणका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउने, श्रमजीवी पत्रकारिता ऐन अनुसार पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत पाउन नसकिरहेकोले उक्त ऐनको पूर्ण कार्यान्वयनको लागि राज्यको ध्यानाकर्षण गराउने र न्यु मिडियाको उचित व्यवस्थापन गर्ने, लोक कल्याणकारी विज्ञापनको वितरण, स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको क्षमता विकास र अवसरका लागि सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।
उद्घाटन सत्रमामा शाखा अध्यक्ष केसीले शाखाले गरेको प्रगति, आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै शाखाले आफ्नो तीन वर्षको अवधिमा गरेको खर्च, संस्थाको नाममा रहेको सम्पत्ति लगायतका बारेमा जानकारी बनाएको थियो । अधिवेशनको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सङ्घ संस्थाहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो । साधारण सभा तथा अधिवेशनमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवाहक प्रमुख देवबहादुर विकको प्रमुख र नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालकाे विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर, महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराई, नेपाल प्रेस युनियनका सचिव युवराज रेग्मी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकारका विभिन्न पेसागत सङ्गठनका प्रमुखहरू, लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शाखाका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष उपाध्यक्ष गोपाल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो ।