Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु
ब्याटिङ गरेर प्रतियाेगिताकाे उदघाटन गर्दै मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ नम्बर वडामा पर्ने ट्याखोला खेल मैदानमा प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको आयोजना र देवयानी स्पोर्टसको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै प्रमुख केसीले क्रिकेटको विकासका लागि नगरपालिकाले ध्यान दिने बताउनुभयो । नेपालले क्रिकेटमा फड्को मारिरहेको अवस्थामा गाउँ गाउँबाट खेलाडी उत्पादनका लागि नगरपालिकाले सहयोग गर्ने उहाँको भनाई छ । 

438230622_848228157301879_8096695286105444219_n-1713174204.jpg
ट्याखोला मैदान देखि नगरमा रहेका अन्य निर्माणाधीन मैदानको काम सम्पन्न गरेर क्रिकेट खेल्न लायक बनाउन पहल गर्ने नगर प्रमुख केसीले प्रतिबद्धता जनाउनुभयो । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका अर्जुन घर्ती कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय टिममा पुर्नु सिङ्गो जिल्ला सहित मुसिकोट नगरपालिकाको गौरवको विषय रहेको बताउँदै उहाँले घर्तीलाई नगरको तर्फबाट सकेको सहयोग गर्ने आश्वासन दिनुभयो । 

पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै उहाँले यस्ता गतिविधिले नयाँ खेलाडी उत्पादनमा प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो । अब पालिकाहरूले क्रिकेट विकास लागि लगानी गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभएको थियो ।जिल्ला क्रिकेट सङ्घका रुकुम पश्चिमका अध्यक्ष दीपक बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

437376862_848227803968581_313227701275394020_n-1713174204.jpg

त्यस्तै कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष भानु मल्ल, ४ का अध्यक्ष निर्मल पुन, ११ का अध्यक्ष गोविन्द बुढा, वडा नम्बर ६ का सदस्य तथा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा, ६ नम्बर वडा सदस्य लक्ष्मण भण्डारी, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढा, कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओली, मुसिकोट नगर प्रहरी प्रमुख उमेश केसी, नगर प्रमुखका स्वकीय सूर्य अधिकारी, समाजसेवी मोहनसिंह बोहरा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका सचिव मनिष खड्काले गर्नुभएको थियो । 

आजबाट सुरु भएको प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा रुकुम पश्चिमका बाँफिकोट बाहेक ५ स्थानीय तहका ६ वटा टिमको सहभागिता रहेको छ । सानीभेरी गाउँपालिकाबाट दुई वटा टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ३० हजार कप र प्रमाण पत्र पाउने छ । त्यस्तै उप विजेताले नगद २० हजार, कप र प्रमाण पत्र पाउने जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ ।

437536154_848228107301884_8551248641936032679_n-1713174203.jpg
त्यस्तै व्यक्तिगत विधामा पनि खेलाडी पुरस्कृत गरिने छ । आयाेजकका अनुसार म्यान अफ द सिरिजले नगद ३ हजार, मेडल र प्रमाण पत्र पाउँदा वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर, वेस्ट विकेट किपर र इमर्जिङ प्लेयरले समान १५ सय नगद, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ सय, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जानकारी दिएको छ ।

438205031_848228340635194_5254281973829292271_n-1713174202.jpg
438216033_848228457301849_7947756220979360913_n-1713174202.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update