Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको शैक्षिक अवस्था र सुधारका खाकाहरु
बिनाराम खड्का ।

शैक्षिक उन्नयन तथा सुधारका लागि के गर्न सकिन्छ ? को कहाँ सच्चिनुपर्ने हो ? बृहत् छलफल र सहमतीको खांचो छ । एउटा पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप दोषारोपन गरेर मात्र हुंदैन । मुसिकोट नगरपालिकाले २०७४ पछि विभिन्न प्रयासहरु गरेको छ । ति सबै प्रयासहरु सफल भएका छैनन । केही सफल भए । केही असफल पनि भए । हामीले विगतमा दरवन्दी मिलानको प्रयास शुरुमै गर्यौं । विद्यार्थी संख्या र भौगोलिक दुरीको आधारमा विद्यालय समायोजन तथा तह मिलानको प्रयास गर्यौँ । शुन्य र न्युन दरवन्दी भई निजी स्रोतमा रहेका विद्यालयमा नगर करार शिक्षक मार्फत संचालनको प्रयास भयो । विगतमा कक्षा ८ को परीक्षा पालिकाबाटै संचालन । विगतको तुलनामा धेरै नै सुधार भएको छ । विद्यालयहरुको स्तर विगतको तुलनामा धेरै माथि उठेको छ । तर शिक्षाको विकास निरन्तर भइरहने हो । हिजो भन्दा आज र आज भन्दा भोलि विकास, प्रगति र उन्नतिको गतिमा निरन्तर अविच्छिन्न अगाडी बढ्ने प्रक्रिया नै शिक्षा हो ।

शिक्षामा स्वस्थ र मर्यादित रुपमा आलोचना, जिज्ञासा, कौतुहलता हुन्छ । शिक्षामा प्रश्नहरु पनि उठ्छन र तिनको समाधानका उपाय तथा उत्तर पनि खोजिन्छ । शिक्षामा निरन्तर अगाडी बढ्ने हुटहुटी हुने गर्छ । अन्य विकासको पुर्वाधारको पनि पुर्वाधार नै शिक्षा भएकोले यो समाज विकासको लागि महत्वपुर्ण अवयव हो । शिक्षा मार्फत मानसिक, शारीरिक, स्वास्थ लगायत सर्वाङ्गिन विकास हुने भएकोले सामाजिक, सांस्कृतिक, नैतिक, भौतिक, आर्थिक तथा अन्य समग्र बहुआयामिक विकासको लागि सबैभन्दा पहिला चेतनाको विकास र मानसिक विकास हुनैपर्छ । मान्छे उठेर हिड्नुभन्दा पहिला म उठ्नुपर्छ र हिड्नुपर्छ भन्ने मानसिक चेतना जागृत हुनैपर्छ । अब केही गर्न सकिन्न । यत्तिकैमा विश्राम गर्नुपर्छ भन्न थालियो भने त्यो शिक्षा हुंदैन ।

यो शैक्षिक सत्र २०८१ को शुरुवातको चरण भएकोले मुसिकोट नगरपालिकाको विद्यालय शिक्षामा के कति कुन कुन क्षेत्रमा सुधार गर्न सकिन्छ ? शिक्षा प्रणालीको मेरुदन्ड, शिक्षा प्रणाली संचालनको प्रमुख माध्यम तथा आधार नै शिक्षक समुदाय रहेकोले सबै शिक्षकहरुको लिखित सुझाव लिन खोजिएको हो । उहांहरुको सुझावको आधारमा मुसिकोट नगरपालिकाको आगामी शैक्षिक सुधारको खाका तय गरिनेछ । अवका केही श्रृङ्खलाहरु यसमै केन्द्रित हुनेछन । क्रमश :.....

लेखक रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update