
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै २०८१ मा सरकारले दिएका सार्वजनिक बिदाका दिन पनि यी सेवा नरोकिने जानकारी गराएको हो ।
२०८० माघ २९ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानीका सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यस अनुसार भोली राम नवमीका दिनमा समेत सेवा प्रवाह हुने छ ।
भोली सरकारले सार्वजनिक बिदा दिएको छ । यो सहित वर्षभरिमा दिइएका १८ वटा सार्वजनिक बिदाका दिन अन्य सेवा प्रवाह बन्द हुने भए पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा बन्द नहुने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । दसैँ, तिहारको बिदामा भने सबै सेवा बन्द रहने छन् ।
सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ । हतारको अवस्थामा यसले सेवाग्राहीलाई ठुला राहत पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै सेवाग्राहीले अनावश्यक खर्चबाट समेत छुटकारा पाउने अपेक्षा गरिएको छ ।