रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जारी प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा चौरजहारी नगरपालिका र आठबिसकोट नगपालिका भिड्ने भएका छन् । फाइनल खेल भोली हुने छ । आज समूह चरणका खेलहरू सकिएपछि फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो ।
आठबिसकोट समूह ‘ए’ बाट शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने चौरजहारी समूह ‘बि’ बाट । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहका शीर्ष दुई टोली फाइनलमा पुगेका हुन् । दुवै टोली अपराजित रहँदै फाइनल प्रवेश गरेको कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।
आठबिसकोटले आफ्नो समूहमा सानीभेरी ‘ए’ र त्रिवेणी गाउँपालिकालाई पराजित गर्यो भने चौरजहारीले मुसिकोट र सानीभेरी ‘बि’ लाई पराजित गरेर फाइनल यात्रा तय गरेको ओलीले बताउनुभयो । फाइनल खेल भोली बिहान १० बजेपछि मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को बिचमा पर्ने ट्याखोला खेल मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउँदा उप विजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजक जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ ।
आयोजकका अनुसार म्यान अफ द सिरिजले नगद ३ हजार, मेडल र प्रमाण पत्र पाउँदा वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर, वेस्ट विकेट किपर र इमर्जिङ प्लेयरले समान १५ सय नगद, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ सय, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले जिल्ला क्रिकेट सङ्घको आयोजना र देवयानी स्पोर्टसको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।