रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ७ सिस्नेरीका चिन्तामणि सुनारले विद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । जेठा छोरा जयबहादुर सुनारको विवाहको खुसियालीमा चिन्तामणिले वडा नं. ३ मा रहेको जनता माविमा ५० हजारको अक्षय कोष स्थापना गर्नुभएको हो । विद्यालय पोषाक र शैक्षिक सामग्रिहरुको अभावमा विद्यार्थी पढ्नबाट वञ्जित हुन नपरोस भन्ने उद्देश्यले छोराको विवाहको खुशियालीमा अक्षय कोष स्थापना गरेको चिन्तामणिले बताउनुभयो ।
अक्षय कोषको साँवाको ब्याज बापत आउने रकमले हरेक वर्ष विद्यालयका अपाङ्ग गरिब तथा जेहेनदार र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम लामिछानेले बताउनुभयो । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामीछाने र प्रधानाध्यापक कलु खड्ककालाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।