Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रथम पालिका कप क्रिकेट: चौरजहारी च्याम्पियन
विजेता टिम चाैरजहारी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता चौरजहारी नगरपालिकाले जितेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को बिचमा पर्ने ट्याखोला खेल मैदानमा भएको फाइनलमा आठबिसकोट नगरपालिकालाई सुपर ओभरमा पराजित गर्दै चौरजहारी च्याम्पियन बनेको हो । च्याम्पियन बन्न चौरजहारीले आठबिसकोटलाई सुपर ओभरमा ६ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको आठबिसकोटले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ९६ रन जोडेको थियो ।

आठबिसकोटका लागि सुरेन्द्र विकले सर्वाधिक २४ रनको योगदान गरेका थिए । त्यस्तै धनबहादुर केसीले १५, नवीन शाहीले ११ र कमल शाहीले ५ रन बनाएका थिए । आठबिसकोटका ३ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । बलिङ तर्फ चौरजहारीका कप्तान विवश गिरीले सर्वाधिक ३ विकेट लिए । गोपाल केसी र उत्तर आचार्यले समान २/२ तथा शङ्कर परियारले १ विकेट हात पारेका थिए । 

DSC08374-1713357190.JPG
जबाफी ब्याटिङमा उत्रिएको चौरजहारीले पनि निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ९६ रन नै बनाएको थियो । चौरजहारीका लागि गोपाल केसीले सर्वाधिक २७ रन बनाए । कप्तान विवश गिरीले २० रनको योगदान गरेका थिए । आठबिसकोटका सुरेन्द्र विकले सर्वाधिक ३, राजेन्द्र शाहीले २ र धनबहादुर केसीले १ विकेट लिएका थिए ।

बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको चौरजहारीले गोपाल केसीको ११ रनको मदतमा १३ रन बनाएको थियो । १४ रनको लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको आठबिसकोट ७ रनमा रोकिएको थियो । बलिङ र ब्याटिङ तर्फ उत्कृष्ट प्रदर्शन गरेका चौरजहारीका गोपाल केसी प्लेयर अफ द म्याच घोषित भए । 

DSC08406-1713357188.JPG
विजेता चौरजहारीले नगद ३० हजार र ट्रफि हात पारेको छ भने उप विजेता बनेको आठबिसकोटले नगद २० हजार र ट्रफि पाएको कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो । साथै विजेता र उप विजेता सबै खेलाडीलाई प्रमाण पत्र समेत प्रदान गरिएको उहाँले बताउनुभयो । 

विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज चौरजहारी नगरपालिकाका शङ्कर परियार घोषित भए । उनले नगद ३ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै सानीभेरीका भुवन भण्डारी वेस्ट बलर, मुसिकोटका शङ्कर बुढा वेस्ट व्याट्सम्यान, मुसिकोटकै रामकृष्ण परियार उत्कृष्ट फिल्डर बन्दा उदीयमान खेलाडी आठबिसकोटका कमल शाही घोषित भए । उनीहरुले समान १५ सय, मेडल र प्रमाण पत्र प्राप्त गरेको ओलीले बताउनुभयो ।

DSC08220-1713357193.JPG

जिल्लाको क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्देश्यले जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिम र देवयानी सपोर्ट बागबजारको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा जिल्लाका बाँफिकोट बाहेक अन्य पाँच पालिकाबाट ६ वटा टिमको सहभागिता रहेको थियो । सानीभेरी गाउँपालिकाबाट २ टोलीले भाग लिएका थिए । वैशाख ३ गतेबाट सुरु भएको प्रतियोगिता आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दीपक बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भानु मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्रिकेट सङ्घका सचिव मनिष खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो ।

DSC08378-1713357188.JPG
DSC08411-1713357185.JPG
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update