Kakhara सबैको खबर सम्पूर्ण खबर
डाक्टर पढाउँदै सानीभेरी गाउँपालिका 
गाउँपालिकाकाे सहयाेगमा एमबिबिएस पढिरहेका कमल कुसारी (बायाँ) र प्रकाश विष्ट (दायाँ)

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले दुई जनालाई डाक्टर पढाइरहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमबाट दुई जनालाई डाक्टर पढाइरहेको हो । गाउँपालिकाको चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति साझेदारी कार्यक्रम मार्फत सानीभेरी गाउँपालिका वडा नम्बर ३ का प्रकाश विष्ट र वडा नम्बर ६ का कमल कुसारीले डाक्टर पढिरहनुभएको छ । 

विष्टले काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स कलेज धुलिखेलमा र कुसारीले लुम्बिनी मेडिकल कलेज पाल्पा तानसेनमा एमबिबिएस पढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो । उनीहरूलाई गाउँपालिकाले ४ वर्षसम्म २०/२० लाख सहयोग गर्ने उहाँले बताउनुभयो । 

बिचमा पढाई छाडेमा वा पढाई पुरा नगरेमा भने यो रकम दिइने छैन । बिचमा पढाई छाडेको अवस्थामा गाउँपालिकाले जति रकम सहयोग गरेको छ त्यो रकम नियमानुसार असुलउपर गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यसरी उत्पादन भएका डाक्टरले गाउँपालिकामा १ वर्ष अनिवार्य निःशुल्क सेवा गर्नुपर्ने छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई जनालाई डाक्टर पढ्न सहयोग गर्ने गरी सूचना जारी गरेकामा दुई जनाले मात्र आवेदन दिएको र उनीहरू छनोट भएको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले बताउनुभयो । 

गाउँपालिकाले यो कार्यक्रम गत वर्ष नै ल्याएको थियो । तर गत वर्ष कसैको पनि आवेदन नपरेपछि कार्यक्रम अगाडी बढ्न सकेको थिएन । डाक्टर उत्पादन गर्ने र गाउँपालिकावासीको सेवामा लगाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । 

डाक्टर पढ्ने रहर भएका तर आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्नेहरूका लागि लक्षित गरेर यो कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । २० लाख सहयोग पाएमा डाक्टर पढ्न धेरै सहज हुने भएकोले यो कार्यक्रम निकै नै लाभदायी देखिएको उहाँको भनाई छ । आर्थिक रूपमा विपन्न भएका कारण दुर्गमका युवा युवतिले डाक्टर पढ्न नसक्ने बाध्यता रहेकामा यो कार्यक्रम सहयोगी साबित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यो कार्यक्रम पहिलो वर्षमा रहेको र यसको प्रभावकारिता हेरेर थप परिष्कृत गर्दै लैजाने अध्यक्ष विष्टले बताउनुभयो । ‘यो गाउँपालिकावासीको हितका लागि सोचिएको कार्यक्रम हो, उहाँले भन्नुभयो–पहिलो कुरा गाउँपालिकामा डाक्टर उत्पादन हुने छन्, त्यसपछि उनीहरूले गाउँपालिकावासीको सेवा गर्ने छन् जसले गर्दा गाउँपालिकावासीको स्वास्थ्यमा टेवा पुग्ने छ ।’ भौतिक संरचनाको विकास मात्र विकास नभएकोले मानव संसाधन विकासका लागि यस्ता कार्यक्रम फलदायी हुने उहाँको विश्वास छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update