Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो रुकुम कप भलिबल प्रतियोगिता सर्‍यो 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबलको दोस्रो संस्करण सरेको छ । सहभागी हुने टिमको आग्रहमा खेल सारिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले लगभग सबै राष्ट्रिय खेलाडीलाई रुकुम झार्ने तयारी गरेकोमा विभिन्न कारणले सबै खेलाडी पुग्न नसकेपछि अर्को सूचना नभएसम्मका लागि खेल सारिएको उहाँको भनाई छ ।

सहभागी टिम र खेलाडीको आग्रहमा खेल सारिएको र सबैको सल्लाहमा छिट्टै प्रतियोगिताको मिति तोक्ने उहाँले बताउनुभयो । ‘धेरैजसो राष्ट्रिय खेलाडीहरू भलिबल खेल्न युएईको दुबई जानुभएको थियो, त्यहाँ भारी वर्षाले एयरपोर्ट बन्द हुँदा खेलाडी आउन ढिला भयो, सबैको सल्लाहमा केही दिन खेल सार्ने निर्णय भएको हो, उहाँले भन्नुभयो ।’ प्रतियोगिता छिट्टै सञ्चालन हुने समेत उहाँले बताउनुभयो । प्रतियोगिता पूर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ६ गते बिहीबारबाट सुरु हुनु पर्ने थियो ।

तयारी नपुगेको भन्दै आयोजकले शुक्रवार देखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो । तर खेलाडी पुग्न समय लाग्ने भएकोले प्रतियोगिता सरेको हो । प्रतियोगिताको अन्य सबै तयारी भने पुरा भएको उहाँले बताउनुभयो ।  प्रतियोगिता स्थलमा घरबार, मञ्च व्यवस्थापन, कप निर्माण लगायतका सबै तयारी पुरा भएको उहाँले बताउनुभयो । आयोजकको तयारी नपुगेर भन्दा पनि खेलाडीहरू पुग्न नसक्ने भएपछि प्रतियोगिता सार्नुपरेको आयोजकको भनाई छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र हाम्रो सरोकार रुकुम पश्चिमले मिलेर प्रतियोगिता आयोजना गरेका हुन् ।

यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ । समूह चरणका खेलामा १ सय र सेमिफाइनल तथा फाइनलमा २ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update