Kakhara सबैको खबर सम्पूर्ण खबर
राहतले दसैं टर्यो
राहत वितरण गर्दै मुसीकोट-१०, का वडा सदस्य धनवहादुर खड्का ।

मुसीकोट नगरपालिका–१०, का मनिराम बिकलाई यो वर्षको दसैंमा खाद्यान्न जोहो गर्न मुश्किल परेन् । कोरोना भाईरस (कोभिड–१९) त्यसमा पनि पहिरो पिडित बिकको परिवारले मुख्य चाड दसैं हाँसिखुसी मनायो । दसैंलाई लक्षित गर्दै नगरपालिकाले समस्यामा रहेका परिवारलाई छनौट गरेर राहत स्वरुप खाद्यान्न सामग्रि बाँढ्ने योजना बनायो । र बिकको परिवार पनि राहत पाउने सुचिमा पर्यो । दसैंको मुखैमा दाल, चामल, नुन, तेल पाएपछि बिकको परिवारलाई दसैं टार्न मद्त पुग्यो ।

मुसीकोट १२ की दैसरा कामिको परिवारले पनि यो वर्ष दसैंमा खाद्यान्न अभाव झेल्नु परेन । आम्दानिको स्रोत केहि नभएको विपन्न ६ जनाको परिवारका लागि नगरपालिकाले उपलब्ध गराएको राहत दसैं टार्ने सेतु नै बन्यो । आर्थिक अभावका कारण चाडवर्प कसरी टार्ने भन्ने चिन्ताले सताईरहने कामिलाई यो पटक भने केहि राहत भयो । ‘दसैंमा खासै समस्या भएन अव तिहार कसरी टार्ने भन्ने चिन्ता छ,’ उहाँले भन्नुभयो ।

बिक र कामिको परिवार मात्र होईन नगरपालिकाका ६ सय परिवारले दसैंमा राहत पाएका छन् । नगरका १४ वटै वडाका कोभिड प्रभावित, बाढि पहिरो पिडित, अपांग, एकल महिला, विपन्न, दलित, अल्पसंख्यक परिवारलाई नगरपालिकाले विभिन्न खाद्यान्न सामग्रिहरु वितरण गरेको हो । ६ सय परिवारलाई ३० केजिको ६ सय बोरा चामल, १ हजार ८ सय केजि दाल, ६ सय केजि नुन, ६ सय लिटर तेल र १ हजार ८ सय पिस हात धुने साबुन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिपरिवार ३० केजि चामल, एक केजि दाल, एक केजि नुन, एक लिटर तेल र ३ पिस साबुन वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिपरिवार १८ सय ७३ रुपैंयाका दरले राहात वितरण भएको छ । राहात वितरणमा लागि ११ लाख २३ हजार ८ सय रुपैंया खर्च भएको खड्काले बताउनुभयो । वडाले सिफारिस गरी पठाएका परिवारलाई राहत दिईएको हो ।

नगरपालिकामा सिफारिस भए अनुसार प्रत्येक वडामा कुपन पठाएको र उक्त कुपन देखाएर सिफारिसमा परेका परिवारले नगरपालिकाले तोकेका खाद्यान्न पसलबाट खाद्यान्न सामग्रि लिएका थिए । वडा नं. १ मा ४८, वडा नं. २ मा ४०, वडा नं. ३ मा ४०, वडा नं. ४ मा ४०, वडा नं. ५ मा ५०, वडा नं. ६ मा ४०, वडा नं. ७ मा ४०, वडा नं. ८ मा ४१, वडा नं. ९ मा ४१, वडा नं. १० मा ४४, वडा नं. ११ मा ४०, वडा नं. १२ मा ४०, वडा नं. १३ मा ४८ र वडा नं. १४ मा ४८ परिवारले राहत पाएका हुन् ।

विभिन्न कारणले समस्यामा परेका परिवारलाई राहत पुगोस भनेर खाद्यान्न सामाग्रि वितरण गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न सामग्रि पाएपछि समस्यामा रहेका परिवारलाई दसैं मान्न तथा केहि दिनको गुजारा गर्न सहज भएको छ । नगरपालिकाले यस अघि पनि कोभिड–१९ का कारण समस्यामा परेका परिवारलाई विभिन्न चरणमा राहत स्वरुप खाद्यान्न सामग्रिहरु वितरण गरेको थियो । कोभिड महामारीका कारण काम गर्न नपाएपछि विभिन्न वर्ग तथा समुदायका मान्छेहरु पिडामा छन् ।

यो विचमा धेरैले रोजगारी गुमाएका छन् । देश तथा विदेशमा विभिन्न काम गरेर गुजारा गर्दै आएकाहरू कोभिड-१९ का कारण काम विहिन बनेका छन् । आम्दानिको स्रोत नै गुमेपछि धेरै परिवार अहिले संकटमा छन् । त्यसैबेला दसैं, तिहार लगायतका चाडपर्व आउँदा विपन्न परिवार अझै समस्यामा छन् । उनिहरूले गाउँमै रोजगारीको माग गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update