रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कृषकलाई अनुदानमा हाते ट्याक्टर (मिनि टेलर) वितरण गरिएको छ । आज कृषि शाखाले सिम्रुतुमा एक कार्यक्रमका बिच १४ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।
सङ्घीय सरकारको हस्तान्तरित विशेष अनुदान कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा पालिकाका १० वटै वडाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार २० प्रतिशत भने कृषक आफैले बेहोरेका छन् ।
कृषकहरूको माग सङ्कलन गरी आवश्यकताको आधारमा यस भन्दा अघि कृषि कार्यक्रममा नसमेटिएका कृषकलाई लक्षित गरेर हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो । हाते ट्याक्टर वितरण कार्यक्रममा जम्मा ९ लाख ८० हजार बजेट खर्च भएको छ ।
जसमा गाउँपालिकाले ७ लाख ८४ हजार बेहोर्दा कृषकको २० प्रतिशत अर्थात् १ लाख ९६ हजार लगानी रहेको छ । विशेष हस्तान्तरित कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा १४ जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएकामा केही समय भित्र सङ्घीय सशर्त अनुदान कार्यक्रमबाट १० जना कृषकलाई हाते ट्याक्टर वितरण गरिने कृषि शाखा कार्यालय त्रिवेणीले जनाएको छ ।
हाते ट्याक्टर वितरण कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, आर्थिक विकास समिति संयोजक भद्रबहादुर शेर्पाली, कृषि शाखाका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।