Kakhara सबैको खबर सम्पूर्ण खबर

नेकपा एमाले रुकुम पूर्वले भर्खरै नयाँ नेतृत्व पाएको छ । चैत्र २९ र ३० गते रुकुमकोटमा सञ्चालन भएको पार्टीको नवौँ अधिवेशनले लिलामणी गौतमलाई पार्टीको नेतृत्व सुम्पिएको छ । ३६ वर्षीय गौतम एमालेका देशभरकै ‘कान्छा’ अध्यक्ष हुनुहुन्छ । युवा नेतृत्व पाएपछि नेकपा एमाले रुकुम पूर्वमा उत्साह देखिन्छ । गौतमको राजनीतिक जीवन विद्यार्थीबाट सुरु भएको हो । सिस्ने गाउँपालिका ६ रुकुमकोटका गौतम रुक्मिणी मावि रुकुमकोटमा विद्यालय तहको शिक्षा हासिल गर्दा नै नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । उहाँको सक्रिय विद्यार्थी राजनीति भने २०५६ साल देखि सुरु भयो । सक्रिय विद्यार्थी राजनीतिमा होमिएको ४ वर्षपछि २०६० सालमा उहाँ अनेरास्ववियुको तत्कालीन रुकुम जिल्ला अध्यक्ष बन्नुभयो । त्यसपछि उहाँ सङ्गठनको केन्द्रीय सदस्य समेत बन्नुभयो भने विद्यार्थी सङ्गठनको साबिक राप्ती अञ्चलको इन्चार्जको समेत जिम्मेवारी सम्हाल्नुभयो । विद्यार्थी राजनीति पछि विभिन्न सामाजिक कर्ममा लाग्नुभएका गौतम दुई वर्ष देखि भने सक्रिय पार्टी राजनीतिमा हुनुहुन्छ । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो महाधिवेशनबाट ४० वर्ष मुनिको कोटा तर्फ प्रदेश सदस्य निर्वाचित हुनुभएका गौतमले दुई वर्ष अघि रुकुम पूर्वको जिल्ला सचिवको जिम्मेवारी समेत पाउनुभएको थियो । उनै गौतम नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । पार्टी नेतृत्वका लागि झन्डै आधा दर्जन नेताहरू आकाङ्क्षी देखिए पनि अन्ततः गौतमले बाजी मार्नुभयो । नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा निर्वाचित गौतमसँग हामीले उहाँका भावी योजना र चुनौतीका विषयमा केन्द्रित रहेर संवाद गरेका छौँ ।

युवाहरू राजनीतिमा नहोमिएसम्म राजनीति सुध्रिन्न
मेरो राजनीतिक जीवन विद्यार्थी हुँदै देखि सुरु भएको हो । राजनीतिमा लागेपछि माथिल्लो पदमा पुग्ने रहर सबैमा हुन्छ । राजनीतिमा धैर्यता, लगनशीलता र क्रियाशीलता महत्त्वपूर्ण कुरा हो । म विगत देखि नै नेकपा एमालेमा रहेर विभिन्न कमिटीमा रहेर जिम्मेवारी पुरा गरिसकेको छु । पछिल्लो समय युवाहरूमा राजनीतिप्रति वितिर्सना छ । युवाहरू राजनीतिमा आउनु हुँदैन, राजनीति बुढापाकाले मात्र गर्ने हो भन्ने गलत बुझाई छ । त्यसलाई चिर्न सक्रिय युवाहरू राजनीतिमा आउनुपर्छ, सधैँ आलोचना गरेर मात्र बस्ने होइन युवाहरू । सकारात्मक रूपमा काम गर्नका लागि हामी युवाहरू अब आफै राजनीतिमा होमिनु पर्छ भन्ने जब महसुस भयो त्यसपछि म पार्टीको मूल राजनीतिमा होमिएको हुँ ।

DSC08017-1713608935.jpg
खारिएर आएको छु, सबै चुनौतीको सामना गर्न सक्छु 
म १६, १७ वर्षको उमेर देखि नै राजनीतिमा सक्रिय छु । म परिपक्वताका साथ राजनीतिमा होमिएको छु । मैले विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको छु । म एकै पटक जिल्ला अध्यक्षमा आएको होइन । म सँग थुप्रै काम गरेका अनुभव छन् । पार्टी अग्रजको सहयोग र युवा पङ्क्तिको साथमा म सफल हुन्छु भन्ने लागेको छ । म हतोत्साहित छैन, आत्तिएको छैन । पार्टी अध्यक्षको जिम्मेवारी लिइरहँदा विभिन्न चुनौतीहरू, बाधा अवरोधहरू छन् । तिनको सामना गरेर अघि बढ्ने छु । मेरो अहिलेसम्मको अनुभवलाई अब पार्टी चलाउन प्रयोग गर्छु । 

रुकुम पूर्वमा एमालेलाई पहिलो शक्ति बनाउँछु 
रुकुम पूर्व जस्तो ठाउँमा नेकपा एमालेको नेतृत्वमा आउनु सामान्य कुरा होइन । रुकुम पूर्वमा नेकपा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने जुन उद्देश्यका साथ पार्टीको नेतृत्वमा आएको छु । मेरो तीन वर्षको कार्यकालमा रुकुम पूर्वमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्छु । नेकपा एमाले रुकुममा कमजोर शक्तिको रूपमा हिजो पनि थिएन र आज पनि छैन । कुनै समय हामी रुकुममा पहिलो शक्तिका रूपमा थियौँ । राजनीतिमा उतारचढावहरू आइ नै रहन्छन् । कहिले पहिलो शक्ति, कहिले दोस्रो त कहिले तेस्रो शक्तिका रूपमा हामी छौँ । रुकुम पूर्वको कुरा गर्दा अहिले हामी दोस्रो शक्तिका रूपमा रहेका छौँ । दोस्रो शक्तिबाट पहिलो शक्ति बनाउनु पर्छ भन्ने दृढ सङ्कल्पका साथ म नेतृत्वमा आएको छु । बिचमा राजनीतिक उतारचढावका कारण केही कार्यकर्ता यता उता भए पनि हाल भने सङ्गठित सदस्य, सुवेच्छुकहरु, कार्यकर्ताहरू एमालेप्रति बफादार छन् । म नेतृत्वमा आएपछि सबैतिर उत्साह देखिएको छ । तपाई जत्तिको व्यक्ति राजनीतिमा आएपछि तपाईँलाई सहयोग गर्छौँ, अब पार्टीलाई पहिलो शक्ति बनाउनुपर्छ भनिरहनुभएको छ । यसले म उत्साहित छु भने पार्टी पहिलो बन्नेमा विश्वस्त छु । 

DSC08013-1713608994.jpg
एमाले सक्रिय बन्छ    
पार्टीका कार्यकर्ताहरूलाई सङ्गठित गर्ने, पार्टी कमिटी निर्माण गर्ने र चलायमान गराउने, पार्टीका जन वर्गीय सङ्गठनलाई चलायमान बनाउनमा मेरो ध्यान जाने छ । पार्टीका नेतालाई जिम्मेवारी विहीन गराउने काम हुन्न । काम गर्दै जाँदा कहीँ पार्टीले कमजोरी गरेको रैछ भने त्यसलाई सच्याउँछौँ । एमाले रुकुम पूर्व अब विभिन्न मुद्दा लिएर जनताको जान्छ । पार्टी पङ्क्तिलाई सक्रिय बनाएर अघि बढ्ने गरी सोचेको छु । 

राजनीतिलाई सही ट्र्याकमा ल्याउने हो भने युवा आकर्षण बढ्छ 
राजनीतिलाई सही ट्र्याकमा ल्याउने हो भने राजनीतिमा पनि युवाहरूको आकर्षण बढ्छ । राजनीतिक दलहरूले जल्दा बल्दा विषयमा आवाज उठाउन, खबरदारी गर्न जरुरी छ । पुराना नेतालाई गाली गरेर युवाहरू पन्छिने अवस्था छैन । बिग्रँदै गएको राजनीतिलाई सुधार्न युवाहरू राजनीतिमा होमिनुको विकल्प छैन । राजनीति पेसा होइन सामाजिक कार्य हो, हामी जनताका मालिक होइन नोकर हौँ भन्ने मानक स्थापित गर्न जरुरी छ । यसैलाई ध्यानमा राखेर पनि म राजनीतिमा होमिएको हुँ । म पार्टीको देशभरकै कम उमेरको अध्यक्ष पनि हुँ । मलाई केही नयाँ गरेर देखाउने मुख्य जिम्मेवारी आएको छ । यसमा खरो उत्रिने छु । 

DSC08002-1713609036.jpg
राजनीतिमा फाइदा खोजिनुहुन्न  
राजनीतिमा सेवा भाव भन्दा पनि आर्थिक उपार्जनको उपायहरू खोजिन थालेका छन् । यो घातक हो । राजनीतिमा आम्दानी खोज्ने र राजनीतिलाई शक्ति सञ्चय गर्ने अवसरका रूपमा लिनु हुँदैन भन्नेमा म स्पष्ट छु । राजनीति समाजको पिँधमा रहेको वर्गको आवाज बन्नुपर्छ । हाम्रो पार्टी सधैँ श्रमजीवीको पक्षमा छ । गरिखाने वर्गका निम्ति सधैँ अग्रसर हुने छु । फाइदाको राजनीतिलाई निरुत्साहित गरी सेवाको राजनीतिमा जोड दिने छु । 

DSC08026-1713609090.jpg
समाजका बृहत्तर हितमा सबै दलसँग सहकार्य गर्छु 
मैले निर्वाचित हुने बित्तिकै भनेको छु अन्य राजनीतिक दलहरूसँग उच्च राजनीतिक संस्कारयुक्त तरिकाले सहकार्य गरिने छ । सबै राजनीतिक दलहरूको मूल ध्येय भनेकै जनताको जीवनस्तर सुधार गर्ने, जनताका आधारभूत आवश्यकताहरू पुरा गर्ने, जनसरोकारका विषयमा चासो र ध्यान दिने हो । त्यसैले अस्वस्थ प्रतिस्पर्धा गरेर, झैँ झगडा गरेर, एक अर्कालाई दोषारोपण गरेर हामी उम्किन सक्दैनौँ र उम्किनु पनि हुँदैन । हामीले साझा सवालमा साझा अवधारणा बनाउन जरुरी छ । रुकुम पूर्वको हकमा यहाँका तत्कालीन आवश्यकताहरू के हुन्, ती आवश्यकताहरू कसरी परिपूर्ति गर्न सक्छौँ, विकास निर्माणका विषयहरू के हुन यी सबै साझा विषयहरू माथि म र मेरो पार्टी जिल्लाका अरू राजनीतिक दलहरूसँग समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने छौँ । म चाहन्छु विगतमा जे जस्ता क्रियाकलापहरू भए त्यसलाई भुलेर राजनीतिक संस्कार युक्त तरिकाले, एक अर्काको सम्मानजनक तरिकाले समन्वय हुने छ । यसका लागि म आफै आफै लागि पर्ने छु । मलाई विश्वास छ रुकुम पूर्वमा राजनीतिक दलहरूका बिचमा सम्मान र संस्कारयुक्त राजनीतिक वातावरण निर्माण हुने छ । 

नेकपा एमाले रुकुम पूर्वका नव निर्वाचित अध्यक्ष लिलामणी गौतमसँग गरिएको कुराकानीमा आधारित ।   

फाेटाेः मनिष खड्का/कखरा ।   

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update