Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अझै सकिएन अस्थायी आवास निर्माण, झन्डै ५ कराेड स्थानीय तहमै थन्कियाे

भूकम्प गएको ६ महिना पुग्नै लाग्दा पनि रुकुम पश्चिममा अझै अस्थायी आवास निर्माण सकिएको छैन । जिल्ला विपत् कोषबाट हालसम्म ३२ हजार नौ सय ९६ लाभग्राहीका लागि पहिलो किस्ता गइसकेको छ । जसमध्ये स्थानीय विपत् कोषबाट ३१ हजार ८५ लाभग्राहीलाई पहिलो किस्ता गएको छ । 

जिल्लाबाट स्थानीय तहमा गए पनि स्थानीय तहबाट अझै एक हजार नौ सय ११ लाभग्राहीलाई पहिलो किस्ता जान बाँकी रहेको छ । पहिलो किस्ता पाएका र नपाएका गरी जिल्लाभरमा ३१ हजार चार सय ३६ लाभग्राहीले अस्थायी आवास निर्माण गरेका छन् । 

लाभग्राही कायम भए अनुसार अझै एक हजार पाँच सय ६० लाभग्राहीले अस्थायी आवास निर्माण गर्न नसकेको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शुक्रवार जारी गरेको तथ्याङ्कमा उल्लेख छ । पहिलो किस्ता पाएका भन्दा अस्थायी आवास निर्माण गर्ने लाभग्राहीको सङ्ख्या बढी छ । 

तथ्याङ्क अनुसार जिल्लाभरमा ३१ हजार ८५ लाभग्राहीले पहिलो किस्ता पाएकोमा त्यो भन्दा तीन सय ८५ बढी अस्थायी आवास बनेको देखिन्छ । हालसम्म पहिलो किस्ता २५ हजारका दरले स्थानीय तहमा ८२ करोड ४९ लाख गएको छ । जसमध्ये स्थानीय तहले ७७ करोड ७१ लख २५ हजार लाभग्राहीलाई वितरण गरेका छन् । 

अझै चार करोड ७७ लाख ७५ हजार स्थानीय तहको खातामै थन्किएको छ । पहिलो किस्ता वितरण नै नसकिएको र अस्थायी आवास निर्माण नसकिएकोले दोस्रो किस्ता कहिले जान्छ भनेर भन्न सकिने अवस्था छैन । 

437967420_1461798734762216_7924829019025285755_n-1713617540.jpg
 

स्थानीय तहले लाभग्राहीको विवरण विपत् पोर्टलमा प्रविष्ट गर्ने काम चलिरहेको बताएका छन् । त्यो सकिएपछि मात्र दोस्रो किस्ताको रकम वितरण हुने जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ । 

अस्थायी आवासको फोटो लगायतका विवरण पोर्टलमा इन्ट्रि भएपछि मात्र दोस्रो किस्ता वितरण सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो । भूकम्प गएको आधा वर्षसम्म अस्थायी आवास निर्माण नै नसकिएको अवस्थामा अब पुनर्निर्माणमा वर्षौँ लाग्ने देखिएको छ । हिउँदको चिसो खुला आकाश र पालमुनि कटाएका भूकम्प प्रभावितले यो वर्षको वर्षा अस्थायी आवासमा बिताउनुपर्ने छ ।   

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update