Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ७ सय हेक्टर वन क्षेत्र डढेलोले सखाप 

रुकुम पश्चिममा हालसम्म २९ ठाउँमा डढेलो लागेको छ । पर्याप्त वर्षा नहुँदा सुख्खापन बढ्दै गएपछि जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन देखि निजी गरी २९ ठाउँमा आगलागी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

यसबाट ७ सय हेक्टर वन क्षेत्र सखाप भएको छ । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार गत माघ ३ गते देखि वैशाख २ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा गरी ७ सय ७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो । 

डढेलोबाट कोणधारी, खाली क्षेत्र, चौडापाते, लेकाली वन, सामुदायिक वन, निजी खरकट्टी र राष्ट्रिय वन नष्ट भएको उहाँले बताउनुभयो । डढेलोले वनमा रहेका रुख, बिरुवा र बिजुलीका पोल जलेर नष्ट भएको उहाँको भनाई छ । वन्यजन्तुको क्षतिको विवरण भने कार्यालयसँग छैन । 

जिल्लामा हालसम्म घर गोठ तथा मानवीय क्षति भने नभएको प्रमुख परियारले बताउनुभयो । कसरी डढेलो लाग्यो भनेर पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो । हालसम्म एक ठाउँमा एक जना बालकले आगो लगाएको भन्ने बाहेक अन्य कुनै पनि ठाउँमा कसरी आगलागी भयो भन्ने जानकारी नभएको उहाँले बताउनुभयो । 

यसरी लागेको डढेले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कर्मचारी, नगर प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको कार्यालयको भनाई छ । केही ठाउँको डढेलो भने आफै नियन्त्रणमा आएको समेत कार्यालयले जनाएको छ । 

वनमा राम्रो घाँस पलाउँछ भन्ने विश्वास तथा मानवीय लापरबाहीका कारण डढेलो लाग्ने गरेको छ । केही ठाउँमा भने खसेका ढुङ्गा ठोक्किएर समेत आगलागी हुने गरेको बताइन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update