Kakhara सबैको खबर सम्पूर्ण खबर
३७ वटा सामुदायिक र २२ वटा राष्ट्रिय वनमा डढेलो 

रुकुम पश्चिममा अहिलेसम्म ५९ वटा वनमा डढेलो लागेको छ । सामुदायिक र राष्ट्रिय गरी ५९ वटा वन जलेर खरानी भएका छन् । डढेलो लाग्नेमा ३७ वटा सामुदायिक र २२ वटा राष्ट्रिय वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । गर्मियाम सुरु भएसंगै हालसम्म जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक र राष्ट्रिय वनमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयकी निमित्त प्रमुख सृजना अधिकारीका अनुसार डढेलोबाट अहिलेसम्म ३ हजार १ सय हेक्टर बढी वन क्षेत्र सखाप भएको छ ।

१ हजार २ सय ६२ हेक्टर सामुदायिक वन र १ हजार ९ सय २५ हेक्टर राष्ट्रिय वन गरी ३ हजार १ सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्र आगोले सखाप पारेको अधिकारीको भनाई छ । अझैपनि डढेलो लाग्ने क्रम पूर्ण रुपमा नरोकिएकाले क्षेति बढ्न सक्ने उहाँले बताउनुभयो । त्यस्तै जंगलमा लागेको डढेलो गाउँ पस्दा जन धनमा पनि क्षेति पुगेको छ । गाउँ पसेको आगो निभाउने क्रममा बाँफिकोट गाउँपालिका १० गारावाङमा ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । जिल्लामा डेढ दर्जन घर, गोठ पनि जलेर नष्ट भएका छन् ।  

विभिन्न ठाउँका १४ वटा घर र ४ वटा गोठ वनमा लागेको डढेलो गाउँ पस्दा जलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । यो वर्ष लामो समय खडेरी परेका कारण डढेलाका घटनाहरु बढेको डिभिजन वन कार्यालयको भनाई छ । खडेरी परेका बेला मानविय लापरवाहीका कारण वनमा डढेलो लाग्ने क्रम बढेको बताईएको छ । 

‘यो वर्ष लामो समय पानी परेन जसका कारण आगलागिका घटना बढी भए, कतै कतै घाँसको लोभमा पनि मान्छेहरुले आगो लगाउने गरेको सुनिन्छ, कति ठाउँमा वटुवाले जथाभावि चुरोटका ठुटा फाल्दा पनि आगो लागेको पाईन्छ, जे भएपनि मानविय लापरवाहीकै कारण वनमा डढेलो लाग्ने क्रम बढेको छ, निमित्त प्रमुख अधिकारीले भन्नुभयो ।’ सचेतनाको कमिका कारण पनि आगोलागि घटनामा बृद्धि भइरहेको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update