Kakhara सबैको खबर सम्पूर्ण खबर
लसुनले बदलेको झ्याङ गाउँका स्थानीयको जीवनस्तर !
कृषकको बारीमा पुगेर लसुनको अवस्था बारे जानकारी लिँदै वडाध्यक्ष धनबहादुर खड्का ।

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गाबाट केही टाढाको दुरीमा छ, मुसिकोट नगरपालिका वडा नम्बर १० को झ्याङगाउँ । सडक सञ्जालबाट भने यो गाउँ जोडिन सकेको छैन । यहाँका स्थानीयहरू सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलासम्म भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्त्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने कृषकलाई सडकको आवश्यकता महसुस धेरै हुन्छ ।

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु विक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य उपजको तुलनामा लसुन राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्ष यता लसुन खेती गर्ने कृषकको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँले नै लसुन खेतीमा छन् । २२ घरपरिवार रहेको यो गाउँमा सबै घरपरिवारले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याएको छ । 

438101927_809777677662916_2211067162017147368_n-1714034675.jpg
गाउँमा पहिलो पटक २०६२/०६३ सालदेखि लसुन खेती सुरु गर्नुभएका ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । ‘गाउँमा पहिलो पटक लसुन खेती गर्ने कृषक म नै हुँ, पछिल्लो समय लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले सबै गाउँले लसुन खेतीमा लागेका छन्’ खड्काले भन्नुभयो । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उहाँ बताउनुहुन्छ । ‘गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक १ देखी १ लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घर खर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।’ उहाँले भन्नुभयो । 

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट १ लाख १० हजार रुपैयाँ आम्दानी भएको खड्काले बताउनुभयो । १० वर्षअघिको कुरा स्मरण गर्दै खड्काले भन्नुभयो–पहिले डोकामा बोकेर ४ घण्टा हिँडेर जिल्ला सदरमुकाम खलङ्गा पुगेर लसुन विक्री गरेको हुँ, अहिले त गाउँ नजिकै खोलामा सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ । धेरै कुरामा सहज भएको छ ।’ 

438083575_379616311717583_801747593797242752_n-1714034673.jpg
स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्कालाई पनि यतिवेला लसुनले फल लगाउने (गाना) समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलमा भ्याई नभ्याई छ । घर नजिकैको केही जग्गामा गहुँ खेती गरे पनि धेरै जग्गामा लसुन खती गर्नुभएको छ । गत वर्षको भन्दा यस पटक अलि धेरै लसुन खती गरेको खड्काले सुनाउनुभयो । २०६८ सालदेखि व्यवसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट हुनुहुन्छ । ‘गहुँ खेती भन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँ खेतीबाट परिवारको खर्च व्यवस्थापन गर्न समस्या हुन्थ्यो, व्यवसायिक लसुन खेती गर्न थालेपछि आर्थिक रूपमा सहज भएको छ’ खड्काले भन्नुभयो–पहिले बजारको समस्या हुँदा व्यावसायिक रूपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार बारीमै आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रूपमा लसुन खेती गर्न थप हौसला मिलेको छ ।’ खड्काले गत वर्ष लसुन विक्रीबाट बिउ बाहेक ८३ हजार रुपैयाँ आम्दानी गरेको सुनाउनुभयो । 

खड्काहरूको बसोबास रहेको यो गाउँमा पछिल्लो समय लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँ शिक्षक पेसा सँगसँगै साँझ बिहानको समयमा लसुन खेती गर्दै आउनुभएको छ । शिक्षण पेसामा २५ वर्ष खर्चिनुभएका खड्का कृषि पेसालाई पनि सँगसँगै अङ्गाल्दै आउनुभएको छ । शिक्षक खड्का आफूले पनि लसुन खेतीमा राम्रो आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको बताउनुभयो ।

438065376_1492256425035975_8846994952041409633_n-1714034672.jpg
‘बारीमा अहिले १ सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउ बाहेक ९० हजार रुपैयाँ आम्दानी भयो, यो वर्ष लसुनबाट राम्रो आम्दानी हुने अपेक्षा गरेको छु । उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्’ शिक्षक खड्काले भन्नुभयो । 

प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यवस्थापनको सहजीकरण वडाले गरेको छ । लसुन उत्पादन गर्ने कृषकहरूलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यकता रहेको शिक्षक खड्काले बताउनुभयो । कुन बेला गोडमेल गर्ने, कुन औषधी प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङगारिक मल व्यवस्थापन लगायतका विषयमा प्राविधिकले कृषकको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उहाँको भनाई थियो । 

438095216_1139995653799342_5284199288936014863_n-1714034675.jpg
लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास 
लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडी बढेको वडा अध्यक्ष धनबहादुर खड्का (वसन्त) ले बताउनुभयो । उहाँका अनुसार कृषकले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाने अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बिउ वितरण, राम्रो उत्पादन गर्ने कृषकलाई सम्मान तथा  पुरस्कृत समेत गर्दै आएको छ । वडामा उत्पादन भएको कृषिजन्य बस्तु वडाले व्यापारीसँग समन्वय गरेर सल्यान, दाङ, काठमाडौँसम्म पठाउने गरेको छ । झ्याङगाउँमा  हाल २२ घरपरिवार व्यावसायिक लसुन खेती गरिरहेको वडा अध्यक्ष खड्काको भनाई छ । प्रत्येक कृषकले १ क्विन्टल देखि माथि लसुन खती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्य बाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पुरै जग्गामा लसुन खेती गर्न करिब २ सय ५० क्विन्टल बिउ लाग्ने अनुमान वडाको छ । अहिले झ्याङगाउँबाट वार्षिक २ सय ५० क्विन्टल लसुन जिल्ला बाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गर्ने भएकोले बजारको कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । 

438065390_960100925674138_8381302979487084120_n-1714034677.jpg
वडाले गाउँमै सडक पुर्‍याउने योजना बनाएको छ । गाउँमै सडक जोडिएमा भने उत्पादन भएका कृषिजन्य वस्तुलाई बजार पुर्‍याउन सहज हुने छ । किसानलाई व्यवसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा  सम्पन्न बनाउन  वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेका छन् । झ्याङ गाउँमा लसुन खेती गर्ने किसानको सङ्ख्या २२ देखि २५ सम्म भए पनि वडामा भने ३ सय ६० कृषकले लसुन खेती गर्ने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । यो आर्थिक वर्ष वडाले २ सय ४५ घरपरिवारलाई २० केजीका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो । 

गत वर्ष झ्याङ गाउँबाट मात्र २ सय ५० क्विन्टल लसुन जिल्ला बाहिर पठाउँदा वडा भरबाट  ५ सय क्विन्टल लसुन जिल्ला बाहिर पठाइएको  थियो । उक्त लसुनबाट वडामा ५० लाख भित्रिएको थियो । वडाध्यक्ष खड्काका अनुसार लसुन खेतीको सुरुवात भएको झ्याङगाउँमा पछिसम्म इतिहास रहोस् भनेर १० लाख बजेट खर्चेर लसुनको प्रतिमा सहितको लसुन पार्क समेत निर्माण गरिएको छ । यहाँ उत्पादित लसुन जिल्ला बाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग पनि बढेको छ । यही आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र समेत घोषणा गरिएको छ । प्राङगारिक मल प्रयोग गरेर अर्ग्यानिक उत्पादन गर्ने र वडालाई अर्ग्यानिक उत्पादनको रूपमा घोषणा गर्ने लक्ष्य वडाले लिएको छ । वडामा लसुन खेती सँगै सुन्तला खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रूपमा सम्पन्न बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर  व्यवसायीकरणमा जोड दिएको वडाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update