रुकुम कप भलिबलको दोस्रो संस्करणको तयारी पुरा भएको छ । शुक्रवार देखि जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । प्रतियोगिता स्थल बराहटाुकरा टुँडिखेलमा बहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले पूर्व निर्धारित मिति भन्दा एक साता ढिलो गरी प्रतियोगिता सुरु हुन लागेको बताउनुभयो ।
वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन गर्ने गरी तयारी पुरा भए पनि सबै खेलाडी पुग्न नसक्ने भएपछि खेल एक साता पछि सारिएको र शुक्रबार भोली देखि सुरु हुने अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगिता स्थलमा घेरबार, मञ्च तथा खेल मैदान व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगितामा अहिलेसम्म ८ जिल्लाको सहभागिता रहने पक्का भएको छ भने चर्चित राष्ट्रिय खेलाडीहरू आउने छन् ।
अध्यक्ष बुढाले आयोजक रुकुम पश्चिम सहित बागलुङ, पाल्पा, नवलपरासी, सुर्खेत, सल्यान, नेपाली सेनाको चण्डीदल गण, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ लगायतका टिमले भाग लिने र उक्त टिमबाट राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरूले खेल्ने बताउनुभयो । बागलुङबाट नेपाली राष्ट्रिय टिमका कप्तान मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट लगायतका खेलाडीले खेल्ने छन् भने रुकुम पश्चिमबाट रबिन चन्द, सफल बिक, पहल गहतराज, लोकेन्द्र गिरी लगायतका खेलाडीले खेल्ने अध्यक्ष बुढाले बताउनुभयो ।
सहभागी अन्य टिमबाट समेत अन्य ख्याति प्राप्त राष्ट्रिय खेलाडीहरूले खेल्ने भएकोले प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीहरूको धमाका देख्न सकिने बुढाले बताउनुभयो । यो प्रतियोगिता पुरस्कार राशिका हिसाबले मात्र सर्वाधिक नभई खेलाडी सहभागिताका हिसाबले पनि जिल्लाको ऐतिहासिक प्रतियोगिता भएको अध्यक्ष बुढा बताउनुहुन्छ । प्रतियोगिता लिगकम नकआउट सिस्टममा खेलाइने छ ।
यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ ।
साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ । समूह चरणका खेलमा १ सय र सेमिफाइनल तथा फाइनलमा २ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।