Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो रुकुम कप भलिबल: हाम्रो सरोकारको विजयी सुरुवात 
टिम हाम्राे सराेकार ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गाको बराहटाकुरामा जारी रुकुम कप भलिबलको दोस्रो संस्करणमा हाम्रो सरोकारले विजयी सुरुवात गरेको छ । आज भएको प्रतियोगिताको पहिलो खेलमा मुसिकोट नगरपालिका ७ को हाम्रो सरोकारले बाँफिकोट गाउँपालिका ४ लाई पराजित गरेको हो । उसले ३–० को सोझो सेटमा जित दर्ता गरेको छ । हाम्रो सरोकारमा सुर्खेतका खेलाडीको बाहुल्यता रहेको छ ।

त्यस्तै आजै भएको नेपाली सेनाको चण्डी दल गण सल्ले र आयोजक रुकुम पश्चिमका बिचमा भएको सो म्याचमा आयोजक विजयी भएको छ । आयोजकले ३–० को सोझो सेटमा जित निकालेको हो । आयोजकमा नेपाली राष्ट्रिय भलिबल टिमका महत्त्वपूर्ण खेलाडी रबिन चन्द सहित सशस्त्र प्रहरी बलका लोकेन्द्र गिरी र नेपाल पुलिस क्लबबाट खेलिरहेका रुकुम पश्चिमकै पहल गहतराज र सफल बिक लगायतका खेलाडीहरू छन् । आर्मीमा नेपाली राष्ट्रिय भलिबल टिमका क्याप्टेन मानबहादुर श्रेष्ठ सहित आर्मी क्लबका धनबहादुर भट्ट, दुर्गा महतो लगायतका खेलाडीहरू सहभागी छन् । मानबहादुर, धनबहादुर र दुर्गा भने आजको खेलमा सहभागी थिएनन् । 

भोलीबाट लगातार खेलहरू सञ्चालन हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो । सबै टिम पुग्न ढिला भएका कारण खेल सञ्चालनमा केही असहजता देखिएको भए पनि भोली बिहान ८ बजेबाट भने लगातार खेलहरू चल्ने उहाँले बताउनुभयो । भोली म्याच नम्बर २ देखिका खेलहरू सञ्चालन हुने उहाँको भनाई छ । उहाँका अनुसार सहभागी सबै ७ टिमलाई एकै समूहमा राखिएको छ । सहभागी सबै टिमले एक अर्कासँग खेल खेल्ने छन् । अङ्क तालिकाको १ र २ नम्बरमा रहने टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्ने छन् भने तेस्रो र चौथो टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बुढाले जानकारी गराउनुभयो । समूह चरणका २१ र फाइनल तथा तेस्रो स्थानका गरी कुल २३ वटा खेल सञ्चालन हुने छन् । 

यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ । समूह चरणका खेलमा १ सय र सेमिफाइनल तथा फाइनलमा २ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

थप तस्बिर

DSC08616-1714227859.JPG
DSC08581-1714227856.JPG
DSC08596-1714227857.JPG
DSC08643-1714227867.JPG
DSC08649-1714227865.JPG
DSC08638-1714227863.JPG

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update