रुकुम कप भलिबलमा आयोजक रुकुम पश्चिमले नेपाली सेनाको चण्डीदल गण सल्लेलाई पराजित गरेको छ । मङ्गलवार भएको निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक ३–२ को सेटमा विजयी भयो । २–० ले पछि परेको अवस्थामा आयोजकले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । उत्कृष्ट सुरुवात गरेको आर्मीले फिनिसिङ राम्रो गर्न नसक्दा अपराजित यात्रालाई जारी राख्न सकेन । प्रतियोगितामा ३ खेल खेलेको आर्मीको यो पहिलो हार हो ।
यता रुकुम पश्चिमको यो लगातार तेस्रो जित हो भने मङ्गलवारको दोहोरो जित हो । मङ्गलवार भएको दाेस्रो खेलमा आयोजकले बाँफिकोट गाउँपालिका ४ लाई ३–० को सेटमा पराजित गरेको थियो । आर्मीमा राष्ट्रिय भलिबल टोलीका क्याप्टेन मानबहादुर श्रेष्ठ सहित धनबहादुर भट्ट, दुर्गा महतो लगायतका खेलाडी छन् । आयोजकमा पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रबिन चन्द सहित पुलिस क्लबका सफल विश्वकर्मा, पहल गहतराज, एपिएफका लोकेन्द्र गिरी, चन्द रावत लगायतका खेलाडी आयोजकमा रहेका छन् ।
मङ्गलवारको पहिलो खेलमा हाम्रो सरकार रुकुम पश्चिमले बाँफिकोट गाउँपालिकालाई ३–१ को सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा आयोजक रुकुम पश्चिमले बाँफिकोट गाउँपालिका ४ का विरुद्ध सोझो सेटको जित निकाल्दा अर्को खेलमा नवलपरासीले सल्यानलाई कडा प्रतिस्पर्धाका बिच ३–२ को सेटमा पराजित गर्न सफल भएको थियो ।
पाँचौँ दिनको खेल सकिदा अङ्क तालिकामा ९ अङ्कका साथ हाम्रो सरोकार रुकुम पश्चिम पहिलो स्थानमा रहेको छ । उसले कुल ४ खेल खेलेकामा तीनमा जित निकालेकाे छ । तीन खेल खेलेको आयोजक रुकुम पश्चिम अपराजित रहँदै ८ अङ्कका साथ दोस्रो स्थानमा रहँदा तीन खेलमा ७ अङ्क सहित आर्मी तेस्रो, ४ खेलमा ७ अङ्क सहित सल्यान चाैथाे, ३ खेलमा ५ अङ्क सहित नवलपरासी अङ्क तालिकाको पाँचाैँ स्थानमा रहेको प्रतियोगिताका रेफ्रि संयोजक द्रोण चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बाँफिकोट गाउँपालिका र बाँफिकोट गाउँपालिका ४ ले भने अङ्कको खाता खोल्न सकेका छैनन् ।
सबै टिमले एक अर्कासँग खेलिसकेपछि अङ्क तालिकाका टप दुई टिमले उपाधिका लागि फाइनल खेल्ने छन् भने तेस्रो र चौथो नम्बरले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी सबै ७ टिमलाई एकै समूहमा रोखेर सबै टिमले एक अर्कासँग खेल्ने गरी मिलाइएको छ ।
यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ ।
साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ ।