Kakhara सबैको खबर सम्पूर्ण खबर

नेपाली सेनाकाे चण्डीदल गण सल्ले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा मुसिकोट खलङ्गामा जारी दोस्रो रुकुम कप भलिबलको फाइनलमा पुगेकाे छ । बुधवार राउन्ड रोबिनकाे आफ्नाे अन्तिम खेलमा नवलपरासीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै आर्मी फाइनल पुगेकाे हाे । आर्मी १६ अंकका साथ फाइनल पुग्याे ।

उपाधीका लागि उसँग खेल्ने अर्काे टाेलीकाे भने टुंगाे लाग्न बाँकी छ । आयाेजक रुकुम पश्चिम र हाम्राे सराेकार रुकुम पश्चिम बिच बिहीबार बिहान हुने राउण्ड राेबिनकाे अन्तिम खेलपछि फाइनल पुग्ने अर्काे टाेलीकाे टुंगाे लाग्ने छ । आयाेजक १४ अंकका साथ अंक तालिककाे दाेस्राे स्थानमा रहेकाे छ भने हाम्राे सराेकार ११ अंकका साथ तेस्राे स्थानमा रहेकाे छ । आयाेजक रुकुम पश्चिम डिफेण्डङ च्याम्पियन समेत हाे । त्यस्तै आयोजक अहिलेसम्म अपराजित रहेकाे छ ।

फाइनल खेल भोली दिउँसो २ बजेपछि हुने छ । त्यसअघि तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ । तेस्रो स्थानका लागि नवलपरासी र बिहिबार बिहान हुने राउन्ड राेबिनकाे अन्तिम खेलबाट फाइनल पुग्न असफल हुने टाेलीबिच प्रतिस्पर्धा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बिएमले जानकारी दिनुभयाे ।

७ अङ्क भएको सल्यान र खाता नै खोल्न नसकेका बाँफिकोट गाउँपालिका तथा बाँफिकोट गाउँपालिका ४ भने प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिताका रेफ्रि संयोजक द्रोण चन्दले जानकारी दिनुभयो । राउन्ड रोबिनका अन्तिम खेल अन्तर्गत बुधवार ४ खेल भएका थिए । पहिलो खेल चण्डीदल गण सल्लेले सल्यानलाई ३–१ को सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा निकै प्रतिस्पर्धाका बिच हाम्रो सरोकारले नवलपरासीलाई ३–२ को सेटमा पराजित गर्दा तेस्रो खेलमा आयोजक रुकुम पश्चिम सल्यान विरुद्ध ३–१ र चौथो तथा अन्तिम खेलमा आर्मीले नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

बिहीबार हुने फाइनलको विजेताले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ पाउँदा उप विजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र कप प्राप्त गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगितामा तेस्रो हुने टोलीले एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना हुने टिमले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । खेलाडीलाई प्रमाण पत्र र मेडलको समेत व्यवस्था गरिएको छ ।

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ ।

प्रतियोगितामा ७ समूहले प्रतिस्पर्धा गरेका थिए । सहभागी सबै टिमलाई एकै समूहमा राखेर राउन्ड राेबिनका आधारमा खेल खेलाइएको थियो । यो प्रतियोगिताको सह आयोजकमा हाम्रो सरोकार रुकुम पश्चिम रहेको छ । विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । रुकुम कप भलिबल गत बर्षबाट सुरु भएकाे हाे । पहिलाे संस्करणकाे उपाधि एपिएफलाई हराउँदै आयाेजक रुकुम पश्चिमले हात पारेकाे थियाे ।

यसअघि प्रकाशित समाचारमा उपाधिका लागि आयाेजक र आर्मी भिड्ने भन्ने भएकाेमा सच्याइएकाे छ । - सम्पादक 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update