आयोजक रुकुम पश्चिम पराजित रहँदै मुसिकोटमा जारी दोस्रो रुकुम कप भलिबलको फाइनलमा पुगेको छ । आज भएको राउन्ड रोबिनको अन्तिम खेलमा हाम्रो सरोकार रुकुम पश्चिमलाई ३–१ को सेटमा पराजित गर्दै ग्रुप टप गरेर फाइनल पुगेको हो । रुकुम पश्चिम फाइनल पुग्दासम्म अपराजित समेत रहेको छ । हाम्रो सरोकारका विरुद्ध दुई सेट जिते पुग्ने अवस्थामा आयोजकले खेल नै आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।
आयोजक १७ अङ्कका साथ ग्रुप टप गर्दै फाइनल पुगेको हो । फाइनलमा आयोजक र नेपाली सेनाको चण्डीदल गण सल्लेका बिचमा प्रतिस्पर्धा हुने छ । आर्मी १६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै बुधवार नै फाइनल प्रवेश गरिसकेको छ । आर्मीमा नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो लगायत रहेका छन् । आयोजकमा नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी रविन चन्द, सफल विश्वकर्मा, पहल गहतराज, लोकेन्द्र गिरी लगायतका खेलाडी छन् ।
दुवै टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेका कारण फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । फाइनल खेल आजै दिउँसो दुई बजेपछि हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो । फाइनल अघि तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ । तेस्रो स्थानका लागि ११ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको हाम्रो सरोकार र ९ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको नवलपरासीका बिचमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ पाउँदा उप विजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र कप प्राप्त गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगितामा तेस्रो हुने टोलीले एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना हुने टिमले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । खेलाडीलाई प्रमाण पत्र र मेडलको समेत व्यवस्था गरिएको छ ।
साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् ।