रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ तिङताराका १२ वर्षिय शेरवहादुर पुन दैनिक सानीभेरी नदिमा भेटिन्छन् । हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुन दैनिकी सानीभेरी नदिमै वित्छ । उमेरमा सानो भएपनि उनि माथि ठुलो जिम्मेवारी छ । दिनभरी माछा मारेर उनि परिवारको गुजाराका लागि केहि सहयोग गर्छन् । उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ । १० वर्षको उमेर देखिनै उनि नदीमा जाने र जाल हानेर माछा मार्ने काम गर्छन । अव त उनि माछा मार्न निपुण पनि भइसकेका छन् । सुरु सुरुमा दाईसंग माछा मार्न जाने उनि अहिले भने एक्लै जान्छन् ।
दाई रोजगारीका लागि भारततिर हानिएपछि उनि एक्लिएका हुन् । ‘उनि भन्छन्, अव त माछा मार्ने काम मेरा लागि सजिलो भइसकेको छ ।’ बिहानै निस्किएका उनि दिनभर माछा मार्न मै व्यस्थ हुन्छन् । बिहानै घरबाट निस्किने र दिनभर नदीमै माछा मारेर विताउने उनको दैनिकी हो । जाडो होस वा गर्मियाम उनि नदीमै भेटिन्छन् । कहिले धेरै भेटिन्छन्, कहिले थोरै माछा लाग्छन, कहिले त रित्तै पनि फर्किनुपर्छ उनले हाँस्दै भने । माछा बिक्रि गरेर आएको पैसा उनि घरमा दिन्छन । यसले उनको परिवारलाई थोरै भएपनि घर खर्च चलाउन सहयोग पुगेको छ । उनका वुवा मनवहादुर पनि माछा मार्ने काम गर्छन् । आर्थिक अवस्था कमजोर रहेको र रोजगारीको कुनै माध्यम नहुँदा पुन परिवारलाई गुजारा गर्न मुश्किल छ ।
त्यसै कारण शेरवहादुर विद्यालय जादैनन् । उनि सानैबाट विद्यालय जान पाएका छैनन् । आर्थिक अभावका कारण छोरालाई विद्यालय पठाउन नसकिएको बुवा मनवहादुर बताउनुहुन्छ । ‘एउटा छोरो रोजगारीका लागि भारतमा छ, अर्को छोरा गाउँ तिरै ज्याला मजदुरी गर्छ, यो कान्छो छोरालाई पनि विद्यालय पठाउन सकेको छैन्, उहाँले भन्नुभयो, घर व्यवहार चलाउने पैसा छैन् कसरी विद्यालय पठाउनु ।’ कुनै छोरालाई पनि पढाउन नसकेको उहाँको भनाई छ । ‘सानै छ तर यो कान्छो छोराले पनि घर खर्च चलाउन सघाईरहेको छ उहाँ भन्नुहुन्छ ।’
मनबहादुरको ५ जनाको परिवार छ । श्रीमान, श्रीमति र ३ छोरा गरी ५ जनाको परिवारमा शेरवहादुर कान्छो छोरा हुन् । विद्यालय जाने रहर त शेरवहादुरमा छ । तर घरको अवस्थाले त्यो नधान्ने शेरवहादुर वताउछन् । ‘पढ्ने त रहर हो तर के गर्नु घरमा पैसा छैन्, उनि भन्छन्, घरका सबैले दिनभर काम नगरी साँझ विहान खान पुग्दैन्, कसरी स्कुल जानु ।’