रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ स्थित धपे प्रहरी चौकीको लागि जग्गा खरिद गर्न निरन्तर नगद सहयोग प्राप्त भइ रहेको छ । देश तथा विदेशमा रहनुभएका युवाहरुले सकेको रकम सहयोग गरिरहेका छन् । यसै क्रममा सोही ठाउँका विश्व पौडेलले प्रहरी चौकीलाई जग्गा खरिदको लागि नगद रकम सहयोग गर्नुभएको छ । पौडेलले एक लाख १५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहयोग गर्नुभएको हो । यो रकम हालसम्म प्राप्त रकममध्यको सबभन्दा बढी सहयोग हो ।
पौडेल अहिले अमेरिकाको टेक्ससमा हुनुहुन्छ । प्रहरीको लागि जग्गा खरिद गर्न थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको पौडेलले बताउनुभयो । यस अघि उहाँका दाइ विजय पौडेलले ६० हजार र भाइ अजय पौडेलले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरिसक्नु भएको छ । धपेमा प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या भइ रहेको छ । समस्या समाधान गर्नको लागि स्थानीय सहयोग संकलनमा जुटेका हुन ।
धपे प्रहरी चौकी व्यवस्थापन समितिले सहयोग संकलन गरिरहेको छ । प्रहरी चौकीलाई व्यवस्थापन गर्नको लागि सहयोग संकलनमा जुटेको समितिका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । जग्गा खरिदको लागि सबै बाट स्वःतस्फुर्त रुपमा सहयोग प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो । हाल प्रहरीले विद्यालय भवन प्रयोग गरिरहेको छ ।