रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख प्रहरी चौकीको जग्गा खरिदका लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु भएको छ । वडामा रहेको हाम्रो सरोकारको नेतृत्वमा प्रहरी चौकीका लागि जग्गा खरिदका लागि आर्थिक सहयोग सङ्कलन अभियान थालिएको हो ।
साँखमा हाल अस्थायी प्रहरी चौकी रहेकामा स्थायी प्रहरी चौकीको आवश्यकता रहेको भन्दै हाम्रो सरोकारले प्रहरी चौकीको जग्गा खरिद गर्न अभियान थालेको छ । वडा सरकार र राजनीतिक दल तथा स्थानीयबाट साँखमा स्थायी प्रहरी चौकीको आवश्यकता महसुस भएपछि अभियान थालनी गरिएको हाम्रो सरोकारले जनाएको छ ।
यो प्रहरी चौकीको कार्यक्षेत्र भित्र मुसिकोट नगरपालिका वडा ६ र ८ पनि रहेका छन् । यसले गर्दा पनि यहाँ स्थायी रूपमा प्रहरी चौकीको आवश्यकता रहेको हाम्रो सरोकारका सचिव प्रकाश विकले जानकारी दिनुभयो । प्रहरी चौकीको जग्गाका लागि हाम्रो सरोकारले साढे दुई लाख जम्मा गरिसकेको उहाँको भनाई छ ।
हाम्रो सरोकारले पापिनी मेला २०८० बाट बचेको बचेको दुई लाख ३५ हजार प्रहरी चौकीको जग्गा खरिदका लागि खर्चिने निर्णय गरिसकेको सचिव विकले बताउनुभयो । बाँकी अपुग रकम व्यवस्थापनको कुनै विकल्प नदेखिएपछि वडा नम्बर ७ का प्रत्येक घरधुरीबाट स्वैच्छिक रूपमा आर्थिक सहयोग अभियान सुरु गरिएको छ । प्रहरी चौकीको जग्गा खरिदका लागि सङ्कलन भएको रकम केही दिनमा सार्वजनिक गरिने हाम्रो सरोकारले जनाएको छ ।