वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशहरूमा कार्यरत र स्वदेशमै रहेका मुसिकोट ७ का सगाली युवाहरूको जमातले २ वर्ष अगाडी हाम्रो सरोकार नामक संस्थाको स्थापना गरे । समाज विकासका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने गरी हाम्रो सरोकार स्थापना गरेका थिए । अरू कुनै निकायहरूको आस नगरी आफ्नो ठाउँबाट केही गर्न “गुनासो छोडौँ, समाजको लागि केही गरौँ, समाज विकास नहुनुमा समस्या अरूमा होइन, कारण आफूमा खोजौँ” भन्ने मूल मन्त्रका हाम्रो सरोकार स्थापना गरिएको यसका परिकल्पनाकार मनोज विकले बताउनुभयो ।
उहाँका अनुसार हाम्रो सरोकारले स्थापना भए यता समाजका लागि विभिन्न लोकप्रिय कार्यहरू गर्दै आएको छ । स्थापना भए लगतै मुसिकोट ७ का प्रत्येक टोलहरूमा १/१ वटा, साँख स्वास्थ्य चौकीमा एउटा, अस्थायी प्रहरी चौकी साँखमा एउटा र मुसिकोट नगरपालिका ८ घोर्खानीमा एउटा गरी १० ओटा स्ट्रेचर वितरण गरेको उहाँले बताउनुभयो । यसका लागि पूर्वी अफ्रिका सेसेल्समा कार्यरत सगाली युवाहरूले ४० हजार सहयोग गरेका थिए ।
हाम्रो सरोकारकै पहलमा जनजागृति मावि साँखको शैक्षिक गुणस्तरमा टेवा गर्ने गरी आवश्यक फर्निचरका सामग्री समेत हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । दोस्रो चरणमा विद्यालयलाई एक लाख पाँच हजार बराबरका फर्निचरका सामग्रीहरू हस्तान्तरण गरिएको उहाँको भनाई छ । गत वर्षको तिहारमा संस्थाले देउसी भैलो कार्यक्रम र विभिन्न देशमा कार्यरत सगाली युवाहरूको सहयोगमा फर्निचरका सामग्री सहयोग गरिएको हो ।
परिकल्पनाकार विकका अनुसार तेस्रो चरणमा पहिलो पटक साँखका स्थानीय भलिबल खेलाडीहरूलाई पापिनी मेला २०८० मा सहभागी हुने गरी टोल स्तरीय छनौटबाट छानिएका र थप इच्छुक सबैलाई झन्डै पुरा दुई महिना निःशुल्क प्रशिक्षण गराइएको थियो । ३० जनाले प्रशिक्षण लिएकामा यसमा दुई लाख खर्च भएको विकले बताउनुभयो ।
चौथो चरणमा सांस्कृतिक महत्त्व बोकेको पापिनी मेलालाई हाम्रो सरोकारले ऐतिहासिक बनाउन सफल व्यवस्थापन गरेको छ । पहिलो पटक सभ्य र भव्य रूपमा ७ दिन लामो मिनी महोत्सव स्तरमा मेला व्यवस्थापन गरिएको र बुटवल, सुर्खेत, दाङ लगायत ठाउँका व्यापारीहरूलाई ल्याउन सफल भएको पनि हाम्रो सरोकारले जनाएको छ ।
पाँचौँ चरणमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रद्वारा आयोजित दोस्रो रुकुम कप खुला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा सह आयोजकको भूमिका निर्वाह गरेको विकले बताउनुभयो । संस्थाबाट सहभागी भलिबल टिमले तेस्रो स्थान हासिल समेत गरेको उहाँको भनाई छ । संस्थाले हाल साँखमा रहेको प्रहरी चौकीका लागि आर्थिक सहयोग सङ्कलन अभियान थालेको छ । संस्थाको तर्फबाट दुई लाख ३५ हजार सहयोग गर्दै संस्थाले गाउँ टोल तथा वैदेशिक रोजगारीमा रहेकाहरूबाट सहयोग सङ्कलन गरिरहेको छ ।
साथै संस्थाले आगामी दिनहरूमा सकेसम्म निःशुल्क र नभए सहुलियतमा साँखवासीका लागि एम्बुलेन्स सेवा सञ्चालन गर्ने, शैक्षिक गुणस्तर विकास अन्तर्गत भौतिक संरचना निर्माणमा आर्थिक सङ्कलन अभियान सञ्चालन गर्ने, स्पोर्ट एकेडेमी स्थापना गरी स्थानीय खेलाडीहरूलाई उचित तालिमको पहल गर्दै केही वर्षमा प्रदेश स्तरीय खेलाडीहरू उत्पादन गर्ने तथा राम्रा खेलाडीहरूलाई भत्ताको सुरुवात गर्ने योजना बनाइएको संस्थाका परिकल्पनाकार विकले बताउनुभयो ।
त्यस्तै खेल पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ २ वर्ष भित्रमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता साँखमै गर्ने, वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा पर्यटन क्षेत्रमा कार्यरत सगाली युवाहरूको अनुभवको सदुपयोग गर्दै पर्यटन विकासमा आवश्यक प्रवर्द्धनको काम गर्ने, पर्यटन, खेलकुद, होटेल लगायतका क्षेत्रहरूमा वैदेशिक रोजगारीमा रहेका सगाली युवाहरूको सामुहिक लगानीको वातावरण सृजना गर्जनेसम्मका लक्ष राखिएको उहाँले बताउनुभयो ।