रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सडक क्षेत्रमा संचालन गरेका व्यापार व्यवसाय हटाउन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै मापदण्ड विपरित सडक क्षेत्रमा संचालन गरेका व्यापार व्यवसाय हटाउन अनुरोध गरेको हो । वडा नम्बर ३ र ६ मा पर्ने झुल्नेटा बजार र वडा नम्बर २ सिम्रुतु बजार सडक क्षेत्रमा मापदण्ड विपरित संचालन गरेका व्यापार व्यवसाय हटाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा अव्यवस्थित तरिकाले व्यापार व्यवसाय संचालन गर्ने, बजार तथा सडक क्षेत्र अतिक्रमण गरी निर्माण सामग्री स्टोर गर्ने जस्ता मापदण्ड विपरित कार्य नगर्न सचेत बनाएको छ । सडक क्षेत्रमा अव्यवस्थित व्यापार व्यवसाय संचालन हुँदा बजार क्षेत्रमा सवारी दुर्घटना भई जनधनको क्षति भएकाले सडक क्षेत्रका बजारमा मापदण्ड विपरित संचालन गरिएका व्यापार व्यवसाय १५ दिन भित्र हटाउन भनिएको छ ।
सडक क्षेत्रमा संचालन गरिएका व्यापार व्यवसाय हटाई सडक नालीदेखि कम्तिमा साढे १ मिटर र सडक नाली नभएको क्षेत्रमा सडक छेउदेखी २ मिटर पैदल बाटो छाड्नु पर्ने, बजार क्षेत्रमा भवन वा अन्य संरचना निर्माण गर्दा निर्माण सामग्री सडक छेउमा राखेको पाएमा बजार व्यवस्थापन समितिले आवश्यक जरिवाना सहित निर्माण सामग्री हटाउन लगाउने गाउँपालिकाको बैठकले निर्णय गरेको छ ।
त्यसै सिम्रुतु विच बजारमा रहेको बस तथा अन्य सवारी टिकट काउन्टर बजारको उपयुक्त ठाउँमा सारी दुर्घटना जोखिम न्यूनीकरण गर्ने, सिम्रुतु र झुल्नेटा बजार क्षेत्रमा सवारी दुर्घटना जोखिम निम्त्याउने गरी संचालन भएका व्यापार व्यवसाय हटाउनको लागि गाउँपालिका, बजार व्यवस्थापन समिति, नेपाल प्रहरी, प्रशासनबाट संयुक्त पहल अगाडि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो ।
मापदण्ड पालन भए नभएको सम्बन्धमा गाउँपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन र बजार व्यवस्थापन समितिबाट संयुक्त रुपमा अनुगमन गरिने र मापदण्ड पालन नभएको पाएमा कानुन बमोजिम कार्वाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।