नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेस रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशनपछिको ऐतिहासिक प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति खड्काले पहिलेको गठबन्धनलाई टुटाएर प्रचण्डले नेपाली काँग्रेसलाई धोका दिएको बताउनुभयो ।
‘‘चुनावका बेलामा मतदान गर्दा आम नेपाली जनतालाई हामीसँगै गएर दिएको बचनलाई तिलाञ्जली दिएर गठबन्धन तोडेर नेपाली काँग्रेसलाई धोका दिएर एमालेसँग मिल्न जानु भएको छ । यसको राजनीतिक जवाफ नेपाली काँग्रेस र समयले दिन्छ’’ खड्काले भन्नुभयो ।
पार्टीको कुरा जोड्नुहुँदै उपसभापति खड्काले चाँडै केन्द्रीय समितिको बैठक बस्ने उल्लेख गर्नुभयो । सोही बैठकबाट नेपाली काँग्रेसको महासमितिको बैठकले प्रस्तुत गरेका आर्थिक, सामाजिक तथा परराष्ट्र नीति, अहिलेको अवस्थामा नेपाली काँग्रेसको राजनीतिक दृष्टिकोण के हुने भन्ने विषमा समेत केन्द्रीय समितिको बैठक बसेर दस्ताबेज पारित गर्ने खड्काले बताउनुभयो ।
पार्टीले पारित गरेका ती दस्ताबेज देशै भरी पुर्याइने र ती दस्ताबेज मार्फत राजनीतिक मितव्ययिता,एकरूपता, पार्टीको सङ्गठनमा भएका विभिन्न गतिविधिले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनको सन्दर्भ जोड्नुहुँदै उपसभापति खड्काले आउने चुनावहरू एक्लै लडेर बहुमत ल्याउने अभियान सहित योजना बनाएर लाग्ने समेत उल्लेख गर्नभयो ।