Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा एमालेका दुई अध्यक्ष !

नेकपा एमाले रुकुम पश्चिम चौरजहारीको नयाँ नेतृत्व चयनमा विवाद देखिएको छ । नयाँ नेतृत्व चयन गर्न जेठ १ गतेबाट दोस्रो नगर अधिवेशन सुरु भएको थियो । उद्घाटन पश्चात् १ गतेबाटै नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो । तर सहमति नजुट्दा बिहीबारसम्म अधिवेशन लम्बिएको थियो । नयाँ नेतृत्व चयनका लागि पार्टी जिल्ला सचिव शशीराम नेपालीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । तर नेतृत्व चयनका क्रममा भने अध्यक्ष मण्डल नै विभाजित बन्न पुग्यो ।

अध्यक्ष नेपाली सहितको अध्यक्ष मण्डलले अतिराम ओलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नगर कमिटी घोषणा गरेको थियो । जसको उपाध्यक्षमा कपिल बिक, सचिवमा डिल्लीराज शर्मा, उप सचिवमा रिरुप्रसाद लामिछाने र सीता सार्की रहनुभएको छ । यसबाट असन्तुष्ट अर्को पक्षले ओमप्रकाश आचार्यलाई अध्यक्ष घोषणा गरेको छ । अध्यक्ष मण्डलकै लोकेन्द्र मल्ल, भद्राकुमारी खड्का, सरिता सुनार र टोपेन्द्र हमालको समूहले आचार्यलाई अध्यक्षमा घोषणा गरेको हो । अन्य पदमा भने सर्वसम्मत भइसकेकोले अर्को अध्यक्ष मण्डलले नै घोषणा गरेका पदाधिकारीलाई स्वीकार गरिएको बताइएको छ । 

अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी जिल्ला सचिव शशीराम नेपालीले आफ्नो अध्यक्षतामा रहेको अध्यक्ष मण्डलले घोषणा गरेका अतिराम ओली नै आधिकारिक अध्यक्ष रहेको स्पष्ट पार्नुभयो । हलले दिएको अधिकार अनुसार गठन भएको अध्यक्ष मण्डलको निर्णय नै आधिकारिक हुने भएकोले ओलीनै आधिकारिक चौरजहारी नगर अध्यक्ष रहेको उहाँको भनाई छ । ओली नेतृत्वको नयाँ पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण समेत गरिसकेकोले केही व्यक्तिले सनकको भरमा गरेको निर्णयको कुनै अर्थ नहुने समेत उहाँले बताउनुभयो ।

‘केही व्यक्तिहरूले निर्वाचनको कुरा गर्नुभएको थियो, हामी पार्टी निर्माणको अवस्थामा छौँ, यस्तो बेला निर्वाचन गर्ने हो भने पार्टी कमजोर हुने अवस्था छ, पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर हामीले नयाँ नेतृत्व चयन गरेका छौँ, उहाँले भन्नुभयो–यो पार्टी, कार्यकर्ता तथा प्रतिनिधिको भावना अनुसार छ, अरू कसले के गर्‍यो भन्ने कुराले केही अर्थ राख्दैन ।’ अध्यक्ष मण्डलले गरेको निर्णय नै आधिकारिक हुने समेत उहाँले बताउनुभयो । भूगोल, समुदायको प्रतिनिधित्व हुने गरी समावेशी रूपमा नयाँ नेतृत्व चयन गरिएको उहाँको भनाई छ । 

उता अर्का अध्यक्ष ओमप्रकाश आचार्यले आफू आधिकारिक भएको दाबी गर्नुभएको छ । जिल्ला पदाधिकारीले आम प्रतिनिधि, पार्टी कार्यकर्ता र नगर पार्टीकै मनोभावना विपरीत अनावश्यक पेलेर अध्यक्ष घोषणा गर्नु नियमसंगत नभएको उहाँको दाबी छ । आफू अध्यक्षमा निर्वाचित हुने देखेपछि निर्वाचन हुन नदिएको उहाँको आरोप छ । ‘करिब ८० प्रतिशत प्रतिनिधि मेरो पक्षमा देखिएपछि अध्यक्ष मण्डल निर्वाचनबाट पछि हटेको हो, सहमति नभएको अवस्थामा निर्वाचनमा जाने बाटो हुँदा हुँदै पनि जबरजस्ती अध्यक्ष घोषणा गर्नु न्यायोचित होइन, अल्पमत अध्यक्ष मण्डलले गरेको निर्णय स्वीकार छैन, उहाँले भन्नुभयो ।’

अध्यक्ष मण्डलबाटै दुई जनालाई अध्यक्ष घोषणा गरिएपछि आधिकारिक अध्यक्ष को भन्नेमा चौरजहारीका एमाले कार्यकर्ता अन्योलमा परेका छन् । ओलीलाई पार्टी अध्यक्ष नन्दराम देवकोटा र आचार्यलाई पार्टी प्रदेश सदस्य टङ्क ओलीकाे समर्थन रहेको एमाले स्रोतले जनाएको छ । भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा भने यी दुवै समूह एकै खेमामा थिए । जिल्ला अधिवेशनमा खुलेर लागेको नारायणकुमार शाह पक्ष भने चौरजहारीमा तटस्थ देखिएको छ ।

यसैविच नेकपा एमाले आठबिसकोटको अधिवेशन आजबाट सुरु भएको छ । आठबिसकोटमा पनि नयाँ नेतृत्व चयन गर्न सकस पर्ने देखिएको छ । त्यहाँ पार्टी अध्यक्ष देवकोटा पक्षबाट दिनेश चन्द र शाह पक्षबाट धिरेन्द्रजंग शाह अध्यक्षको आकाङ्क्षी देखिएको बताइएको छ ।   

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update