Kakhara सबैको खबर सम्पूर्ण खबर
आठिबसकाेट ८ मा मदिराजन्य पदार्थमा राेक, अटेरी गर्नेलाई वडाकाे सेवाबाट बञ्चित गरिने
आठबिसकाेट नगरपालिका वडा नम्बर ८ काे कार्यालय ।

 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ८ ले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । वडा भित्र रहेका कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका सार्वजनिक क्षेत्रमा वडाले मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो । 

वडामा हुने विभिन्न कार्यक्रम, बैठकहरूमा मदिराजन्य पदार्थ सेवन गरी हो–हल्ला. झै झगडा लगायतका अवाञ्छित गतिविधि गरी शान्ति सु–व्यवस्थामा खलल पार्ने गतिविधिहरू भएको भन्दै वडामा मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको वडा अध्यक्ष खगेन्द्र विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा सर्वदलीय बैठक बसी शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन वडा भित्र मदिराजन्य पदार्थ सेवन तथा विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । 

यसैबिच मदिरा सेवन गरी हिँड्नेलाई वडाबाट दिइने सेवा सुविधाहरूबाट समेत वञ्चित गराइने भएको छ । त्यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि मदिरा सेवन गरी गाली गलौच तथा आँच आउने गतिविधि गरेमा सार्वजनिक मुद्दा लगाउने, सामाजिक सुरक्षा भत्ता पाउनेहरूले मदिरा सेवन गरेको पाइएकोमा भत्ता रोक्का गरिने वडाध्यक्ष विकले जानकारी दिनुभयो । 

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई आँच आउने शब्द लेख्ने व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्ने समेत निर्णय गरेर बुधवारबाट नै लागु गरिएको गरिएको वडा अध्यक्ष विकको भनाई छ । वडाको निर्णयलाई व्यवस्था गरी मदिराजन्य पदार्थ सेवन तथा विक्री वितरण गरेको पाएमा नगरपालिकाको मदिरा नियन्त्रण सम्बन्धी निर्देशिका २०७५ बमोजिम पाँच हजार देखि आठ हजार रुपैयाँसम्म जरिवाना गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update