Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्माण सकिनै लाग्दा गत वर्ष भाँचिएको बेलिब्रिज यति विल्डर्सको लगानीमा सम्पन्न 
भर्खरै निर्माण सम्पन्न भएकाे जाजरकाेटकाे तल्लुबगर र रुकुम पश्चिमकाे गाेतामकाेट जाेड्ने बेलिब्रिज ।

भेरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुबगर र रुकुम पश्चिमको आठबिसकाेट ४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदी माथिको बेलिब्रिज निर्माण सम्पन्न भएको छ । गत वर्षको वैशाख ७ गते निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरबाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिएको थियो । पुल भाँचिदा पुल निर्माणको काम गरिरहेका भारतको बहराइचका २ जना कामदारको मृत्यु भएको थियो भने ७ जना कामदार घाइते भएका थिए ।

त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यती विल्डर्सले पुल निर्माणमा लगानी गरेपछि पुल निर्माण कार्य सम्पन्न भएको छ । यो पुल निर्माणको जिम्मा २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लखमा लिएको थियो । तर पुल भाँचिएपछि भने पुल नबन्ने देखेपछि लगानी गरेको यति विल्डर्सका अध्यक्ष भिमराज केसीले बताउनुभयो । कुनै नाफा घाटा नलिने गरी पुल निर्माणमा जति खर्च लाग्छ त्यो लगानी गर्ने र उक्त लगानी फिर्ता पाउने गरी आफूले लगानी गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पुल भाँचिएपछिको अवस्थाबाट निर्माण सम्पन्न गर्न ६५ लाख खर्च भएको छ । जाजरकोट, रुकुम पश्चिम र डोल्पावासीको लाइफलाइनको रूपमा रहेको यो पुल निर्माण हुने अवस्था नदेखिएपछि आफूले विशुद्ध सेवा भावका हिसाबले लगानी गरेको अध्यक्ष केसीको भनाई छ । यो पुल निर्माण भएसँगै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुम पश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

यहाँ पुल नहुँदा सवारीका साधन भेरी वारी र पारीबाटै सञ्चालन हुने गरेका थिए । अब भने तल्लुबगर र गोतामकोट सिधा यातायात सेवामा जोडिएका छन् । यो सँगै आवतजावतमा सहज हुनुका साथै दैनिक उपभोग्यका सामग्रीहरू ढुवानी गर्न सहज भएको छ । धेरै गाडी परिवर्तन गर्नुपर्ने भएका कारण यात्रुहरूले यात्रामा हैरानी खेप्नुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता थियो । त्यस्तै सामान ढुवानीमा समेत झन्झट हुँदा दैनिक उपभोग्य सामान महँगो हुँदै गएको थिए ।   

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update