रुकुम पश्चिममा दुई एमाले सक्रिय छन् । केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षीय नेता कार्यकताहरु आ-आफ्नो पार्टी आधिकारीक भनेर लागि परेका छन् । भेला, बैठक, संगठन निर्माण लगायतका काम छुट्टा छुट्टै भइरहेका हुन् । दुवै पक्षले स्थानीय तहसम्मको फर्मेशन तयार पारेका छन् । जिल्लामा पहिला माधव नेपाल समूहको वर्चस्वको जिल्ला कमिटि छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, उप सचिव लगायतको टोली माधव नेपाल समूहमा छन् भने केही जिल्ला कमिटि सदस्य तथा नयाँलाई राखेर केपी ओली पक्षले जिल्ला कमिटि विस्तार गरेको छ । ओली पक्षले जिल्ला संयोजक मात्रै तय गरेको छ । अरु पदाधिकारी बनाइ सकेको छैन । तर दुवै पक्षले ५/५ वटा स्थानीय तहमा पनि पार्टी विस्तार गरिसकेका छन् ।
माधव नेपाल समूहले सानीभेरीमा गठन गरेको छैन भने ओली पक्षले त्रिवेणिमा पार्टी बनाउन सकेको छैन । दुवै पक्षले प्राविधिक कारणवस पार्टी निर्माण ढिलाई भएको र अब लगत्तै निर्माण हुने जनाएका छन् । अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष विमलकुमार पुनले एकता भइसकेका एमाले माओवादी अस्तित्वमा आएपछि पार्टी गतिविधि बढाइएको बताउनुभयो ।
स्थानीय तह | नेपाल समूहका संयोजक | ओली समूहका संयोजक |
मुुसीकोट नगरपालिका | दिपकराज खड्का | जगबीर खड्का |
चौरजहारी नगरपालिका | डण्डबीर केसी | अतिराम ओली |
आठबीसकोट नगरपालिका | बीरबहादुर शाही | दिनेश चन्द |
बाँफिकोट गाउँपालिका | धनबहादुर खत्री | हर्क पौडेल |
सानीभेरी गाउँपालिका | तोक्न बाँकी .. | डबलसिङ विक |
त्रिवेणि गाउँपालिका | राजेन्द्र पुन | तोक्न बाँकी .. |
सानीभेरीमा वैशाख १८ गते भेला डाकिएकोमा कोरोनाका कारण त्यो सम्भव नभएको उहाँको भनाई छ । बाँकी ५ स्थानीय तहका भेला, बैठक भइ पार्टी कमिटि समेत पूर्ण बनाइसकेको अध्यक्ष पुनले बताउनुभयो । अर्को समूहले गरिरहेको गतिविधिको बारेमा आफूलाई जानकारी नभएको उहाँको भनाई छ । पार्टी यही एउटै छ, यसैमा सबै गोलबन्द हुने क्रम बढ्दै गएको अध्यक्ष पुनको छ ।
अर्को पक्ष अर्थात ओली पक्षले भने जिल्ला संयोजक तोकेर पार्टी कामकाज चलाइरहेको बताएको छ । अर्कोतिर लागेका नेता कार्यकर्ता आएपछि पदाधिकारी विस्तार गर्ने योजना रहेको केन्द्रीय सदस्य नन्दराम देवकोटाले बताउनुभयो । ‘अरु नेता कार्यकतालाई समेत समेटेर पदाधिकारी विस्तार गर्ने योजना छ, आउनु भएन भने अब लगत्तै पदाधीकारी विस्तार हुन्छ, देवकोटाले भन्नुभयो ।’ मुलधार र संस्थापन पक्ष आधिकारीक हुने तर्क देवकोटाको छ । माधव नेपाल पक्षले संयोजक र केही स्थानीय तहमा सचिव समेत तोकेको छ भने ओली समूहले संयोजक मात्रै तोकेको छ ।