Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम  पश्चिमका चार स्थानीय तहमा नयाँ नेतृत्व
आठबीसकोट नगरपालिकाको नवनिर्वाचित समुह

नेकपा एमाले रुकुम पश्चिमले दोस्रो अधिवेशन मार्फत ४ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका, बाँफीकोट गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा पार्टीले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको हो । अन्य दुई पालिकामा भने नयाँ नेतृत्व चयनको लागि अधिवेशन हुन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठबीसकोट नगरपालिकामा मतदान प्रक्रिया मार्फत नेतृत्व चयन भएको हो । भने ३ स्थानीय तहमा सर्वसम्मत पदाधिकारी छनोट गरिएको छ । त्रिवेणी गाउँपालिकामा यज्ञबहादुर विष्टको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा नरबहादुर खड्का, सचिवमा खड्क पुन, उपसचिवमा गोपाल विष्ट र पुष्पा ओली चयन हुनुभएको छ ।

त्यस्तै बाँफीकोट गाउँपालिकामा भूपलाल केसीको अध्यक्षतामा २५ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा वीरेन्द्र रिजाल, सचिवमा नीराजन दाहाल, उपसचिवमा मनप्रसाद शर्मा र सरिता पौडेल चयन हुनुभएको छ । आठबीसकोट नगरपालिकामा भने निर्वाचन मार्फत दिनेश चन्दको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ । 

जसको उपाध्यक्षमा मनबहादुर पुरी, सचिवमा देवीप्रसाद शर्मा, उपसचिवमा हरिप्रसाद शर्मा र सोमिया मल्ल रहनुभएको छ । आठबीकोटमा अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्वाचन मार्फत चयन गरिएको थियो । भने उपसचिव सहित सदस्यहरू भने निर्विरोध भएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

यसैबिच चौरजहारी नगरपालिकामा पनि अधिवेशन मार्फत नयाँ नगर कमिटी निर्माण गरिएको एमालेले जनाएको छ । एमालेका अनुसार अतिराम ओलीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा कपिल विक, सचिवमा डिल्लीराज शर्मा, उपसचिवमा रिरुप्रसाद लामिछाने र सिता विक चयन हुनुभएको छ । 

तर चौरजहारीमा नेतृत्व छनोटमा विवाद भएपछि दुई जना अध्यक्ष घोषणा गरिएको छ । नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डल नै विभाजित भएको थियो । जिल्ला पार्टी सचिव शशीराम नेपालीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको थियो । तर सहमति जुट्न नसकेपछि दुई जना अध्यक्ष घोषणा गरिएको थियो ।

नेपाली नेतृत्वको अध्यक्ष मण्डलले अतिराम ओलीलाई अध्यक्षमा घोषणा गरेको थियो भने असन्तुष्ट अध्यक्ष मण्डलकै ४ जनाको अर्को टोलीले ओमप्रकाश आचार्यलाई अध्यक्ष घोषणा गरेको छ । आधिकारिक नगर अध्यक्ष ओली नै रहेको र असन्तुष्ट पक्षलाई मिलाएर लैजाने पार्टी अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

अधिवेशन हुन बाँकी रहेको मुसिकोट नगरपालिकामा यही जेठ ७ गते भोली र सानीभेरी गाउँपालिकामा ११ गते अधिवेशन गर्ने एमाले रुकुम पश्चिमले जनाएको छ ।।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update