Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सवको नाफा झन्डै दुई लाख 
महाेत्सवकाे आयव्यय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा सञ्चालित रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक रुकुम उद्योग वाणिज्य सङ्घले आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । जसअनुसार फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोटको बराहटाकुरा टुँडिखेलमा सञ्चालन भएको महोत्सवको नाफा झन्डै दुई लाख रहेको जानकारी गराइएको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले प्रस्तुत गरेको महोत्सवको प्रगति प्रतिवेदनमा महोत्सवको नाफा एक लाख ८९ हजार ६ सय आठ रुपैयाँ ८५ पैसा रहेको छ । महोत्सवको कुल आम्दानी २२ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ ५९ पैसा रहेकामा कुल खर्च २० लाख ६२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा रहेको वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो ।

आम्दानीका स्रोत मध्ये टिकट बिक्रीबाट १० लाख ३१ हजार दुई सय ३८ रुपैयाँ ९४ पैसा, स्टल बिक्रीबाट सात लाख ७० हजार, प्रायोजक तथा विज्ञापन बापत चार लाख ४६ हजार १७ रुपैयाँ ६५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम टेन्ट तथा स्टल निर्माणमा ६ लाख, मञ्च निर्माण तथा साउन्ड सिस्टम व्यवस्थापनमा चार लाख, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा कलाकार खर्च ६ लाख, कलाकार तथा अतिथि ओसारपसारका लागि गाडी भाडामा एक लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तीन लाख १२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा र कर्मचारीमा ५० हजार खर्च भएको उल्लेख छ । 

DSC08982-1716184824.JPG
आयव्यय सार्वजनिक गर्दै रुकुम उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का ।

महोत्सवको सुरुका २ दिन भारी वर्षा हुँदा सोचेजस्तो फाइदा हुन नसकेपनि महोत्सव घाटामा नगएको उहाँले बताउनुभयो । मुसिकोट नगरपालिकाबाट ढिलो गरी अनुमति आउँदा आवश्यक तयारीमा ढिलाइ भएका कारण प्रायोजकहरूबाट समयमै भुक्तानी लिन नसकिएका कारण लेखा परीक्षणमा ढिलाइ हुँदा आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । आम्दानी भएको रकमको ५० प्रतिशत जगेडा कोषमा राखी थप आयस्रोतको व्यवस्थापन गरी महोत्सवमा राखिएका उद्देश्य पुरा गर्ने गरी अघि बढ्ने वरिष्ठ उपाध्यक्ष खड्काको भनाई छ । बाँकी ५० प्रतिशत भने संस्थागत विकासका लागि खर्च गरिने उहाँले बताउनुभयो । 

महोत्सवको अवसरमा ७५ हजार पुरस्कार राशिको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता राखिएको थियो भने स्थानीय झाँकीहरू बिचमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । त्यस्तै महोत्सवमा स्थानीय अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सव पूर्ण रूपमा सफल रहेको सङ्घका अध्यक्ष पलबहादुर खड्काले बताउनुभयो ।

DSC08989-1716184824.JPG
पत्रकार सम्मेलनमा बाेल्दै रुकुम उद्याेग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का ।

ठुलो आम्दानी गर्न नसकेपनि महोत्सव घाटामा नगएको र यसले मेला महोत्सव सबै घाटामा जान्छन् भन्ने गलत नजिरलाई चिर्न सफल भएको उहाँको भनाई छ । समग्रमा रुकुम उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो दोस्रो महोत्सव रहेको र पहिलो महोत्सव लाखौँको घाटामा गएको भए पनि आफूहरूले सञ्चालन गरेको दोस्रो महोत्सव भने फाइदामा लिन सफल भएको उहाँले बताउनुभयो । अब देखि सङ्घको तर्फबाट नियमित रूपमा महोत्सव सञ्चालन गर्ने र अन्धाधुन्ध सञ्चालन हुने महोत्सवमा रोक लगाउने उहाँले बताउनुभयो । 

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, रुकुमको विकासका लागि लगानी सम्मेलन गर्ने, रोजगार बैङ्क स्थापना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने लगायतका लक्ष सहित रुकुम उद्योग वाणिज्य सङ्घले महोत्सव सञ्चालन गरेको थियो । जसको सह आयोजकमा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिम रहेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update