नेकपा (एमाले) रूकुम पश्चिम मुसिकोट नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालय मुसिकोट नगरपालिका ५ बागबजारमा भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट गोकर्ण खड्काको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी निर्माण गरिएको जिल्ला पार्टी अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा तुलबहादुर खड्का, सचिवमा एकराज पाण्डे तथा उपसचिवमा हिमानी केसी थापा र अमरबहादुर खड्का चयन हुनुभएको छ । नगर कमिटी सर्वसम्मत चयन गरिएको पार्टी अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । सोमबार नै उद्घाटनपछिको बन्द सत्रले नयाँ कमिटी निर्माण गरेको हो ।
मुसिकोट नगरपालिका सहित एमालेले रुकुम पश्चिमका पाँचवटा स्थानीय तहमा अधिवेशन मार्फत नयाँ नेतृत्व निर्माण सम्पन्न गरेको छ । यस अघि त्रिवेणी र बाँफीकोट गाउँपालिका तथा चौरजहारी र आठबीसकोट नगरपालिकामा नयाँ नेतृत्व निर्माण गरिएको छ । सानीभेरी गाउँपालिकाको भने यही जेठ ११ गते अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने नेकपा (एमाले) रुकुम पश्चिमले जनाएको छ ।
मुसिकाेटकाे अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार गोबिन्द केसी, कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्ल, जिल्ला अध्यक्ष देवकोटा, कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल लगायतको आतिथ्यता रहेको थियो ।