साविक पूर्तिमकाँडा गाविस संघीयतापछि दुई वडामा विभाजन भयो । सानीभेरी गाउँपालिकाका १ र २ वडा । साविकका ६, ७ र ८ नम्बर मिलाएर १ नम्बर वडा बनाइयो । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका टेकबहादुर पुन वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । झण्डै साढे तीन वर्ष पूरा भइसक्दा वडामा विभिन्न विकास निर्माणका काम भएका छन् । वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी उक्त वडामा १० करोड ३५ लाख ९ हजार बजेट विनियोजन भएको छ । यसमा ९३ लाख बजेट छुट्टै आशा परियोजना मार्फत खर्च हुँदै छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ९७ लाख ५० हजार, २०७५/०७६ मा १ करोड ५८ लाख ८८ हजार, २०७६/०७७ मा ५ करोड २५ लाख ७१ हजार बजेट वडामा परिचालन भएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ करोड ५३ लाख बजेट वडामा खर्च हुने गरी विनियोजन भएको छ । सानीभेरी गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त उक्त बजेटबाट वडाको विकास निर्माणको काम भइरहेको वडाध्यक्ष पुनले बताउनुभयो । आशा परियोजनाबाट अघिल्लो, गत र चालु आर्थिक वर्षमा गरी झण्डै ९३ लाख बजेट वडामा खर्च हुँदैछ ।
घरघर पुग्दै खानेपानी
वडामा ४ वस्ति छन् । भण्डारवन, बुकिचौर, पक्रैयाँ र जंगलगाउँ । यी गाउँ खानेपानीको समस्यामा थिए । निर्वाचनताका गरिएको एउटा प्रतिबद्धता पनि खानेपानी पुर्याउने थियो । यी तीन वर्षको अवधिमा यी गाउँका धेरै घरमा खानेपानी पुगेको छ । तीन वर्षमा २० वटा खानेपानीका योजना निर्माण तथा मर्मत, सुधार भएका छन् । आर्थिक वर्ष २०७४/०७५ यता गत आर्थिक वर्षसम्म यी चार गाउँमा खानेपानी योजना निर्माणमा मात्रै १ करोड ४३ लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा एक करोड बजेटको अर्को लिफ्ट खानेपानी योजना निर्माणको क्रममा छ । आर्थिक वर्ष २०७४र०७५ मा ७ वटा, २०७५/०७६ मा ७ वटा २०७६/०७७ मा ३ र आशा परियोजना मार्फत ३ गरी ४ गाउँमा २० खानेपानी योजना निर्माण भएका छन् । पक्रैयाँका सबै १ सय ६२ घरमै धारा पुगेको छ । भण्डारवनका २७ घरमा धारा पुगेका छन् भने अरु मुहान मर्मत तथा योजनाबाट सबैको सजिलो पहुँचमा यस अवधिमा खानेपानी पुगेको छ । बुकिचौरका ६२ घरमा एक घर एक धाराका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको छ ।
सबै गाउँ सडक सञ्जालमा
तीन आर्थिक वर्षमा वडाका सबै वस्ति सडक सञ्जालमा जोडिएका छन् । सबै भागमा सडक पुग्न नसकेपनि वस्तिको केही भागमा भने सडक निर्माण भइसकेको छ । चाइनाबगर–पक्रैंया–बुकिचौर सडक ६ किलोमिटर निर्माण सम्पन्न भएको छ । बाउनीखेत–मलामेडाँडा–कल्लेरी–कामीगाउँ सडक ३ किलोमिटर सम्पन्न भएको छ । शिलत मावि–लोटेखोला २.५ किलोमिटर सडक निर्माण भएको छ भने जंगलगाउँको माथिसम्म पुग्ने सडक निर्माण थालिएको छ । उक्त सडकको २ किलोमिटर सडक यस अघि नै निर्माण भएको छ भने बाँकी काम चालु आर्थिक वर्षमा सम्पन्न हुने वडाध्यक्ष पुनले बताउनुभयो । नजिक नजिक गाउँ भएपनि भौगोलिक विकटताको कारण जंगलगाउँको माथिल्लो भेगसम्म सडक पुग्न ढिला भएको वडाध्यक्ष पुनको भनाई छ ।
७० प्रतिशत बढी खेतबारी सिंचित
तीन आर्थिक वर्षको बजेटबाट वडाका धेरै खेतबारी सिंचित भएका छन् । ७ वटा सिचाई योजना निर्माण भएका छन् भने त्यसबाट वडाको ७० प्रतिशतबढी वडाबासीको खेतबारी सिंचित भएका छन् । ५ लाख ५० हजारको लगानीमा चाइनाबगर, जंगलगाउँ सिचाई कुलो निर्माण, ८ लाख लगानीमा रजेला सिचाई कुलो निर्माण, ३५ लाखको लगानिमा थगली काप्रेचौर कुन्यौटा सिचाई कुलो निर्माण भएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । ५ लाख ६२ हजारमा थगलीको तल्लो कुलो निर्माण तथा मर्मत गरिएको छ । १० लाखमा मुलपानी टुनिबारा सिचाई योजना निर्माण, २ लाख ५३ हजारमा जंगलगाउँ सिचाई योजना निर्माण, ४ लाख ९३ हजारमा अँधेरीखोला चाइनागर सिचाई कुलो निर्माण भएको छ । सानीभेरी नदी र वर्षेखोलामा आउने बाढी रोक्नका लागि २ करोड ५२ लाख खर्चेर तटबन्ध लगाइएको छ । सानीभेरीको कटान रोक्न रजेलामा एक करोड ४ लाख, चाइनाबगरमा ९० लाख, ठाडा खोला र भण्डारवन खोलामा पनि तटबन्ध लगाइएको छ । नदी र खोलाको कटानबाट वस्ति जगाउन तबन्ध गरिएको र त्यसबाट वस्ति जोगिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
सुधारतर्फ शिक्षा
शिक्षा सुधारमा वडाले ध्यान दिइएको जनाएको छ । यसका लागि भौतिक पूर्वाधार, कम्प्युटरकृत र सूचना प्रविधि तथा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको छ । तीन आर्थिक वर्षमा शिक्षामा मात्रै २ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । यसबाट ६ वटा भवन निर्माण भएका छन् । जनप्रिय आधारभुत विद्यालय भण्डारवनमा १, शितल मावि पक्रैयामा ३ र भेरीदोभान मावि चाइनबगरमा ३ गरी ६ भवन निर्माण सम्पन्न भएका हुन् । वडाका सम्पूर्ण विद्यालयमा कम्प्युटर शिक्षा, सूचना प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।
कृषि तथा पशुमा सवा तीन करोड
ती आर्थिक वर्षमा वडाले ३ करोड २४ लाख बजेट खर्च गरेको छ । बाख्रा पालनमा ४० लाख, बेसार खेतीमा ९ लाख, १६ हजार टिमुरका विरुवा वितरण, आँप, अलैची खेती, कागतिको व्यवसायिक खेतीको सुरुवात पनि गरिएको छ । भकारो सुधार, बाख्राका खोर सुधारका काम भएका छन् । कृषि तथा पशु पालनलाई व्यवसायिक बनाउने योजनामा वडा कार्यालयले योजना बनाएर कार्यान्वन गराउन लगाएको छ । परम्परागत र निर्वाहमूखि खेतीप्रणाली त्याग्ने क्रम सुरु भएको छ । यो वर्ष पक्रैंयाका धेरै भागमा बेसार खेती छ । पहिले फाट्टफुट्ट मात्रै बेसार खेती हुने उक्त ठाउँमा व्यवसायिक बेसार खेती सुरु भएको हो । बेसार प्रशोधनका लागि उद्योग स्थापनाको काम पनि हुने भएको छ । पक्रैयाँबासीकै रोजाइमा बेसार खेती थालिएको हो ।
तीब्र विद्युतिकरण
स्थानीय तहको निर्वाचनपूर्व वडाका कतै पनि विद्युत विस्तार भएको थिएन । पछिल्लो समय केन्द्रीय प्रशारण लाइन विस्तारको काम तीब्र रुपमा भइरहेको छ । केही वस्तिमा विजुली बाल्ने तयारी पनि अन्तिम अवस्थामा छ । तर वडाले सबै वस्तिमा एकैपटक विजुली बाल्ने भनेर काम अघि बढाइरहेको छ । बुकीचौरमा लाइन विस्तारको काम सकिएको छ । अरु गाउँमा आधा बढी विद्युत विस्तारको काम भइसकेको छ । चालु आर्थिक वर्षमा पनि यो काम निरन्तर हुने हुनाले अब सबैतिर एकैपटक विजुली बाल्ने तयारी भइरहेको वडाध्यक्ष पुनले बताउनुभयो ।
आफै विस्थापित
वडाध्यक्ष पुनको परिवार आफै विस्थापित परिवार हो । २०७४ को साउन महिनामा आएको बाढीले घर बगाइदिएपछि पुनको परिवार वडा कार्यालयमा बस्दै आएको छ । भएको घर बगेपछि अर्को नबन्दासम्म वडा कार्यालयमा बसिरहेको पुनले बताउनुभयो । घर निर्माणको काम अन्तिम चरणमा पुगेको अब आफ्नै घरमा सर्ने योजनामा पनि वडाध्यक्षको परिवार छ । वडा कार्यालयमै बस्ने भएकाले सेवाग्राहीलाई सजिलो भएको छ । विहान, साँझ, विदाको दिन कुनै पनि बेला वडा कार्यालयको सेवा प्रवाह भइरहेको वडाध्यक्ष पुनले बताउनुभयो । बाढिले बास बगाइदिएपछि वडा कार्यालयमा सरेको र वडामै बसेपछि सेवा प्रवाह पनि थप सहज भएको वडाध्यक्ष पुनले बताउनुभयो ।
स्कूलिङ अनुसारको काम भएन
२०५५ कात्तिक ११ गतेदेखि पुन तत्कालिन जनयुद्धमा पूर्णकालिन हुनुभएको थियो । देश परिवर्तनका लागि भनेर लडिएको जनयुद्धमा भएको स्कूलिङ अनुसार भने परिवर्तन भएको महशुस नभएको पुनले बताउनुभयो । सामूहिक स्वार्थमा लाग्ने र सबैको समग्र विकास हुने स्कूलिङबाट आएका आफूहरुलाई अहिले भइरहेको विकास निर्माण र प्रक्रियाले चित्त नबुझेको उहाँले बताउनुभयो । यस अघिको विकासको अवस्था हेर्दा भने विकास निर्माणले चित्त बुझाउने ठाउँ रहेको बुझाई वडाध्यक्ष पुनको छ । जनयुद्धपछि कार्यान्वयनमा गएको संघीयताका कारण गाउँमा बजेट बढेको, विकास बढेको उहाँले बताउनुभयो । ‘विकास र बजेट नजिक पक्कै सरको छ,’ अध्यक्ष पुनले भन्नुभयो, ‘पहिलेको विकास र बजेटको हिसाव गर्दा मन बुझाउने ठाउँ छ नै ।’ तर जनयुद्धको मर्म र भाव अनुसार भने हुन नसकिरहेकोमा उहाँको चित्त दुखाई छ ।
दर्जनौं लडाईको एसल्ट ग्रुपमा
४० वर्षीय पुन १७ वर्षकै उमेरमा जनयुद्धमा लाग्नुभयो । यस अवधिमा कम्पनी कमाण्डरसम्म हुनु भएका उहाँ दर्जनौं लडाइको एसल्ट ग्रुपको सदस्य भएर लड्नुभयो । २०५६ को असोज ६ गते महत प्रहरी चौकी आक्रमणमा उहाँ एसल्ट ग्रुपमै हुनुहुन्थ्यो । जतिबेला पुनको उमेर १८ वर्ष मात्रै थियो । पछि कमाण्डोको पनि कमाण्डर भएर उहाँ कारबाहीमा सहभागि हुनुभयो । उहाँले महत, रुकुमकोट, तकसेरा, सल्यानको कालीमाटी रामपुर, रोल्पाको घर्तीगाउँ, होलेरी, दाङको पञ्चकुले, घोराही, भालुवाङ, कालीकोटको कोटबाडा, अछामको मंगलसेन, जुम्ला खलंगा, जाजरकोट पाँचकटिया, अर्घाखाँचीको सन्धिखर्क, डोल्पाको दुनै र सहरतारा कारबाहीमा भाग लिनु भएको थियो । यसैगरी म्याग्दी सदरमुकाम वेनि, रोल्पाको भावाङ, रोल्पा हान्निङ, रोल्पाको बुढागाउँ, सल्यान कपुरकोट टावर आक्रमणमा पनि उहाँ सहभागि हुनु भएको थियो । १८ वटा रेडमध्य ७ नेपाली सेना ११ वटा प्रहरी माथिको थियो । रुकुमको झुल्नेटा, सल्यानको कपुरकोट, गुल्मीको तम्घास, म्याग्दीको गलेश्वर र बाग्लुङ गरी ५ वटा कमाण्डो आक्रमणको कमाण्ड पनि पुनले गर्नुभएको थियो ।