रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं.९ ले ‘आफ्नो गाउँ आफै बचाउ अभियान’ सुरु गरेको छ । तिव्र गतिमा बढिरहेको कोरोना भाईरसको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि वडाले सचेतनामुलक कार्यक्रम सहितको ‘आफ्नो गाउँ आफै बचाउ अभियान’ सुरु गरेको हो । जुन अभियान अन्तरगत वडाका ५ वटा टोलमा युवाहरु सम्मिलित कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । वडाध्यक्ष नविन ओलीको अध्यक्षतामा बसेको वडा कार्यसमितिको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भिरताका लागि लाग्ने र यसका लागि टोल टोलमा समिति गठन गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार आज होल्तारा अदुवारी टोलमा हेमराज ओलीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा अमर खड्का, बालाराम डाँगी, रमन ओली, रोशन ओली, ओपेन्द्र ओली, भिमवहादुर ओली, शुशिल ओली, टोपवहादुर ओली, सन्तोष ओली र अमृता ओली रहनुभएको छ । त्यस्तै नमूना टोल चौखावाङ र स्वारा कुन्सिम्ला टोलमा भोली वैशाख १६ गते, होल लिंगुर टोलमा बैशाख १७ गते तथा कामीगाउँ टोलमा वैशाख १८ गते समिति गठन हुने छ । यो समिति मार्फत प्रत्येक घरमा कोरोनाबाट बच्न वडाले गरेका निर्णय सुनाउने र त्यसलाई पालना गर्न आग्रह गरिने वडाले जनाएको छ ।
त्यस्तै बैठकले विदेश तथा अन्य जिल्लाबाट आएका व्यक्तिहरुलाई निगरानीमा राख्ने, होम क्वारेन्टाईनमा बस्न आग्रह गर्ने, भिडभाड हुने जमघट नगर्न, अन्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै यसको अनुगमण समेत गर्ने निर्णय गरेको छ । वडामा कोरोना संक्रमित देखिएमा र उनिहरुलाई स्वास्थ्यकर्मी सहित राख्नुपर्ने अवस्था आए आईसोलेसन वार्ड निर्माण गर्ने पनि बैठकले गरेको छ । आईसोलेसनका लागि वडामा रहेको सचेतना केन्द्र भवन कुनासिमल, कामीबुढा सहकारी भवन हिल र आमा समुहको भवन लिउडाडालाई प्रयोग गर्न सकिने निर्णय भएको छ । त्यस्तै बैठकले बैठक तथा छलफल गर्ने अवस्था नभएमा आकष्मिक निर्णय गर्ने अधिकार वडाध्यक्ष नविन ओलीलाई दिएको छ ।