नेपाली काँग्रेस रुकुम पश्चिमले उपसभापति हर्कसिंह खत्रीलाई पार्टीको प्रशिक्षण शाखाको संयोजकबाट हटाएको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भर्खरै सम्पन्न पार्टीको जिल्ला सम्मेलनबाट उहाँलाई पदमुक्त गरिएको हो । जिम्मेवारी पाएको एक वर्षसम्म जिम्मेवारी पुरा नगरेको र यो बिचमा एउटा पनि बैठक बसाल्न नसकेको भन्दै पार्टीले उहाँलाई पदमुक्त गरेको जनाएको छ ।
बारम्बार शाखाको काम अगाडी बढाउन अनुरोध गर्दा समेत बेवास्ता गरेपछि पदमुक्त गरिएको पत्र जिल्ला सभापति प्रेमप्रकाश ओलीले उपसभापति खत्रीलाई थमाउनुभएको छ । पार्टी सभापतिको हैसियतले मैले बारम्बार शाखाको काम अगाडी बढाउन अनुरोध गर्दा समेत तपाइले आफूलाई पार्टीले दिएको जिम्मेवारी प्रति बफादार तथा कर्तव्यनिष्ठ नदेखिएकोले तपाइलाई यसअघि दिइएको प्रशिक्षण शाखाको प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ, पत्रमा भनिएको छ ।
खत्रीलाई २०८० जेठ २५ गते पार्टीको प्रशिक्षण शाखाको प्रमुखको जिम्मेवारी दिइएको थियो । भर्खरै सम्पन्न पार्टीको जिल्ला सम्मेलनको बन्द सत्रमा सहभागी नेता तथा कार्यकर्ताहरूले प्रशिक्षण शाखाबाट कुनै पनि गतिविधि सञ्चालन नभएको र शाखा निष्क्रिय रहेको गुनासो आएपछि खत्रीलाई कारबाही गरिएको सभापति ओलीले लेखेको पत्रमा उल्लेख छ । पार्टीलाई सशक्त र मजबुत बनाउनको लागि आवश्यकता अनुसार विगतमा दिएको जिम्मेवारीमा हेरफेर गरिएको बताउनुभयो ।