Kakhara सबैको खबर सम्पूर्ण खबर
तल्लु–छरेबगर बेलिब्रिजको पूर्व अर्थमन्त्री शर्माद्वारा उद्घाटन 
पुल उद्घाटन गर्दै पूर्व अर्थमन्त्री जनार्दन शर्मा ।

भेरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट ४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदी माथिको बेलिब्रिजको उद्घाटन भएको छ । भर्खरै निर्माण सम्पन्न भएको पुलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले बुधवार रिबन काटेर उद्घाटन गर्नुभएको हो । 

पुल उद्घाटन गर्दै शर्माले तीन देश (भारत, नेपाल र चीन) को लाइफ लाइनको रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताउनुभयो । उहाँले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माण कार्य समेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुम पश्चिम र डोल्पाको यातायात सेवा प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

गत वर्षको वैशाख ७ गते निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरबाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिएको थियो । पुल भाँचिदा पुल निर्माणको काम गरिरहेका भारतको बहराइचका २ जना कामदारको मृत्यु भएको थियो भने ७ जना कामदार घाइते भएका थिए ।

DSC09073-1716436556.JPG
त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यती विल्डर्सले पुल निर्माणमा लगानी गरेपछि पुल निर्माण कार्य सम्पन्न भएको छ । यो पुल निर्माणको जिम्मा २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लखमा लिएको थियो । तर पुल भाँचिएपछि भने पुल नबन्ने देखेपछि फिर्ता पाउने सर्तमा लगानी गरेको यति विल्डर्सका अध्यक्ष भिमराज केसीले बताउनुभयो । 

उहाँका अनुसार पुल भाँचिएपछिको अवस्थाबाट निर्माण सम्पन्न गर्न ६५ लाख खर्च भएको छ । जाजरकोट, रुकुम पश्चिम र डोल्पावासीको लाइफलाइनको रूपमा रहेको यो पुल निर्माण हुने अवस्था नदेखिएपछि आफूले विशुद्ध सेवा भावका हिसाबले लगानी गरेको अध्यक्ष केसीको भनाई छ । 

उक्त बेलिब्रिजको गत शुक्रवार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिवारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिज २५ टन क्षमताको छ । 

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताउनुभयो । साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुम पश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

DSC09086-1716436921.JPG
यहाँ पुल नहुँदा सवारीका साधन भेरी वारी र पारीबाटै सञ्चालन हुने गरेका थिए । अब भने तल्लुबगर र गोतामकोट सिधा यातायात सेवामा जोडिएका छन् । यो सँगै आवतजावतमा सहज हुनुका साथै दैनिक उपभोग्यका सामग्रीहरू ढुवानी गर्न सहज भएको छ । धेरै गाडी परिवर्तन गर्नुपर्ने भएका कारण यात्रुहरूले यात्रामा हैरानी खेप्नुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता थियो । त्यस्तै सामान ढुवानीमा समेत झन्झट हुँदा दैनिक उपभोग्य सामान महँगो हुँदै गएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update